रूकुम पश्चिममा मलामी गएका एक व्यक्ति भेरी नदीमा डुबेर बेपत्ता भएपछि खोजीका लागि गोताखोर परिचालन गरिएको छ।
बुधबार दिउँसो तीन बजेतिर चौरजहारी नगरपालिका–९ का ६१ वर्षीय नारायण खड्का मलामी गएको समयमा वडा नं. ३ स्थित रानीसागरस्थित भेरी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए।
जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलले बेपत्ता खड्काको खोजी कार्यका लागि बिहीबार दिउँसोदेखि गोताखोर परिचालन गरिएको सेतोपाटीलाई बताए।
सुर्खेत जिल्लाबाट आएका सशस्त्र प्रहरीका ६ जना गोताखोर खड्का डुबेको क्षेत्रमा खोजीका लागि परिचालन गरिएको डिएसपी पोखरेलले बताए।
गाउँ घरकै हाडनाता भित्रका भाइ गोत्यारको मृत्युपछि खड्का अन्य आफन्त र गाउँले सँगै मलामी गएका थिए। मलामीबाट फर्कने भन्दा पहिला चोखो हुनका लागि नुहाउने प्रचलन रही आएको छ। नुहाउन भने भेरीमा हाम फालेका खड्का फर्केर डुबेर बेपत्ता भएका थिए।