कालिकोटका राजबहादुर मल्ल हत्या प्रकरणमा आरोपितमध्ये एक जना पक्राउ परेका छन्।
कालिकोटको महाबै गाउँपालिकाका टाइगर भनिने पदमबहादुर रावत पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्रवीर विश्वकर्माले एक जनालाई पक्राउ गरिएको जानकारी दिए।
उनलाई कहाँबाट पक्राउ गरिएको भन्ने प्रहरीले खुलाउन चाहेन।
उनलाई चार दिनअघि नै पक्राउ गरिएको थियो। अहिले अनुसन्धानकै विषय भएकाले यस विषयमा विस्तृत भन्न नसकिने डिएसपी विश्वकर्माले बताए।
घटनाको विषयमा थप अनुसन्धान तथा थप आरोपितहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
२०६५ फागुन २६ गते १७ वर्षीय राजबहादुरको हत्या भएको थियो।
राजबहादुर हत्या प्रकरणमा नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।
राजबहादुरको हत्या आरोपमा अध्यक्ष पञ्चा सिंहसहित ६ जनाविरूद्ध २०८० माघ ९ गते दोस्रो पटक पक्राउ पुर्जी जारी भएको थियो। त्यसअघि २०७९ साउन १३ गते पक्राउ पुर्जी जारी भएको थियो।
उक्त घटनामा परिवारले किटानी जाहेरी दिएपछि अहिले पक्राउ परेका महाबै गाउँपालिकाका पदमबहादुर रावत, पञ्चा सिंह, गुराँस भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालीकोटकै खाँडाचक्र नगरपालिकाका सुभाष भनिने वीरबहादुर मल्ल र अशोक भनिने अलि कार्कीविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।