ललितपुरको एक भिरमा स्कुटर चालक खसेका छन्।
बिहीबार मध्याह्न १२ बजेतिर बागमती गाउँपालिका वडा नम्बर- ३ स्थित झाँक्री डाँडाको भिरमा स्कुटर चालक खसेको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए।
उनका अनुसार बागमती प्रदेश ०२-०४२ प ७९२६ नम्बरको स्कुटर सडकबाट करिब ३०० मिटर तल खसेको छ। चालक भने अझै २००/३०० मिटर तल खसेको उनले बताए।
भिरमा प्रहरीले सवारी चालकको ब्लुबुक फेला पारेको छ। जसमा उक्त सवारीका चालक सुनापति गाउँपालिका वडा नम्बर १ का रोहित गौतम छन्।
‘चालक स्कुटरभन्दा अझै धेरै तल खसेका छन्। अप्ठ्यारो ठाउँ छ,’ एसपी सुवेदीले भने, ‘प्रहरी र स्थानीय मिलेर डोरी राखेर उद्धारको प्रयास भइरहेको छ। डेढ घण्टादेखि प्रहरी लागिरहेको छ।’
सवारी चालकको स्वास्थ्य अवस्था पनि अज्ञात रहेको एसपी सुवेदीले बताए। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट स्कुटर अनियन्त्रित भएर खसेको हुनसक्ने देखिएको छ। यद्यपि प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।