लागुऔषध मुद्दामा फरार रहेको भनी पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले बुधबार लामालाई पक्राउ गरेको थियो। उनी बिहीबार छुटेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।
लागु औषध मुद्दामा फरार रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो। तर सर्वोच्च अदालतबाट तारेखमा रहेको भन्ने खुलेपछि उनी छुटेको एसपी रेग्मीले बताए।
उपाध्यक्ष लामा खैरो हिरोइन बिक्रीमा संलग्न भएको र लामालाई तत्कालीन पुनरावेदन अदालत पाटनले २०६४ जेठमा ५ वर्ष कैद सजाय सुनाएको थियो। तर उनले कैद भुक्तान गरेका थिएनन्। उनी अदालतबाट दोषी ठहर भएको कुरा १५ वर्षपछि गत पुस पहिलो साता सार्वजनिक भएको थियो।
डेढ वर्षअघि भएको एन्फा केन्द्रीय कार्यसमिति निर्वाचनको बेलामा पनि लामाको विषयमा निर्वाचन समितिमा उजुरी परेको थियो। त्यतिबेला लामाले आफूले जेल बसिसकेको भन्दै कुरा मोडेका थिए।
निर्वाचन समितिले पनि गम्भीर रूपमा छानबिन गरेको थिएन। तर एन्फा कार्यसमिति पक्ष-विपक्षमा केन्द्रित हुन थालेपछि लामाको विषय सतहमा आएको थियो। लगत्तै विभिन्न सञ्चार माध्यममा समाचार आएपछि लामा सम्पर्कविहीन बनेका थिए।
गत सातादेखि भने उनी सामाजिक सञ्जालमा सक्रिय देखिएका थिए।