काठमाडौं महानगरपालिकाले 'म्युरल आर्ट' गरी सार्वजनिक स्थानका भित्ता रंगाउन थालेको छ। आकर्षक रैथाने कला संस्कृति झल्काउने चित्र कोरेर रंगाउन थालेसँगै त्यहाँ तस्बिर खिच्नेको भीड समेत लाग्न थालेको छ।
महानगरले ललित कला प्रज्ञा प्रतिष्ठानसँग ५० लाखमा सम्झौता गरी सार्वजनिक पर्खालका भित्ता रंगाउन थालेको हो।
कला संस्कृतिको झल्को दिनेगरी कलात्मक चित्र कोर्ने काम गरिरहेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
उनका अनुसार यस्ता चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि हुने छ।
'अहिले सुन्धारास्थित धरहरा र नेपाल टेलिकमको भित्ताहरूमा चित्र बनाउने काम भइरहेको छ,' उनले भने, 'यसपछि त्रिपुरेश्वर रंगशाला, माइतीघरबाट बबरमहलको बाटोमा, प्रदर्शनी मार्ग, अन्तरराष्ट्रिय विमानस्थल बाहिर लगायतका सार्वजनिक स्थानहरूमा भित्ता रंगाउने योजना छ।'
यस्तै, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ताहरूमा पनि चित्र कोरिने उनले बताए।
चित्र कोर्दा ठाउँ अनुसारका आकृतिलाई प्राथमिकता दिइने महानगरले बताएको छ। रंगशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित चित्र कोरिने छ भने विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभूषा झल्कने चित्र कोरिने छ।
यस्तै त्यस्ता सार्वजनिक भित्ताहरूमा मौलिकताका आधारमा समेत चित्र कोरिने छ। त्यस्ता चित्रहरू इन्द्र जात्रा, जात्राका अवसरका प्रदर्शन गरिने परम्परागत नृत्य, भेषभूषा, बादन, काठमाडौं चिनिने भौतिक सम्पदा हुने छ।
कोरिएका चित्रहरूले काठमाडौंका सम्पदा चिनाएर भव्यता प्रदर्शन गर्ने महानगरले बताएको छ।
पहिलो चरणमा १६ हजार स्क्वायर फिटमा चित्र कोर्ने काम भइरहेको ललित कला प्रज्ञा प्रतिष्ठानका सूचना अधिकारी सुरेन्देर गौतमले जानकारी दिए।
सार्वजनिक भित्ताहरू रंगाउन ललित कला प्रज्ञा प्रतिष्ठान र महानगरबीच २०८० फागुन १७ गते सम्झौता भएको थियो।
तस्बिरहरू: