सुनसरीको हरिनगरमा दुई समूहबीचमा भएको झडप प्रहरीले नियन्त्रणमा लिएको छ।
कर्फ्यू सुरू भएपछि सहभागीहरू तितरवितर भएको र झडप नियन्त्रणमा आइसकेको सुनसरी प्रहरीले जनाएको छ।
सुनसरी जिल्ला प्रशासनले हरिनगरसहित जिल्लाका पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेपछि झडप साम्य भएको सुनसरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए।
‘अहिले स्थिति नियन्त्रणमा छ,’ सुनसरी जिल्ला प्रहरी प्रमुख एसपी विपिन रेग्मीले भने, ‘कर्फ्यू लागु भएपछि भीड तितरवितर भएको छ। विस्तारै तनाव साम्य पार्न हामी लागेका छौं।’
रेग्मीका अनुसार प्रदर्शनकारी र प्रहरी गरी हरिनगर झडपमा २९ जना घाइते भएका छन्। १० जना प्रदर्शनकारी र १९ जना प्रहरी घाइते भएको उनले जानकारी दिए।
‘घाइते भएका २९ मध्ये ५ जनाको उपचार भइरहेको छ,’ रेग्मीले भने, ‘अरू घाइतेको अवस्था सामान्य छ।’
जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरूवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू आदेश जारी गरेको छ।
हरिनगर ४ स्थित भुटाहामा दुई समूहबीच झडप भएपछि शुक्रबार हरिनगरको केन्द्र तनावपूर्ण बनेको थियो। घटनास्थलमा प्रहरीले ८० राउन्ड हवाई फायर र ४० सेल अश्रु ग्यास प्रहार गरेको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले जानकारी दिए।