पोखरामा अनौठो तरिकाले बस दुर्घटना भएको छ।
उक्त दुर्घटनाको तस्बिर सामाजिक सञ्जालमा भाइरल पनि बनेको छ।
दुर्घटनाग्रस्त बस बीच सडकमा ठिंग उभिएको छ।
बसको अघिल्लो भाग भुइँमा र पछाडिको भाग आकाशतिर फर्किएर बस टक्कले अडिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सूर्यबहादुर रानाका अनुसार उक्त दुर्घटना पोखरा महानगरपालिका-२७ आरूपाटामा भएको हो।
दुर्घटनाबाट गाडीका चालक पोखरा महानगरपालिका-२७ का टिकाराम विक र सहचालक पोखरा महानगरपालिका- १४ चाउथेका शालिकराम सुवेदी घाइते भएका छन्।
उनीहरूको उपचार भइरहेको डिएसपी रानाले जानकारी दिए। उनीहरूले ब्रेक फेल भएर दुर्घटना भएको भनेका पनि डिएसपी रानाले बताए।
‘पोखरा आउन लागेका रहेछन्। ब्रेक फेल भएर दुर्घटना भएको भनेका छन्। उपचार भइरहेकाले थप सोधपुछ गर्न मिलेको छैन। उपचार भएपछि सोधपुछ गरेपछि के भएको भन्ने थाहा हुन्छ,’ उनले भने।
उनका अनुसार अहिले पनि बस बीच सडकमै ठींग उभिएको छ।
बीच सडकमा बस उभिँदा अन्य सवारी साधन चल्न सकेका छैनन्।
‘प्रहरीहरू घटनास्थलमा जाँदै छन्। बसलाई कसरी हटाउन सकिन्छ भनेर हेर्छौं,’ डिएसपी रानाले भने।