कञ्चनपुरमा एक किशोरको हत्या आरोपमा वडाध्यक्षसहित ६ जना पक्राउ परेका छन्।
किटानी जाहेरी दर्ता भएको झन्डै एक महिनापछि आइतबार आरोपित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार कात्तिक २४ गते बेलाैरी नगरपालिका-९ का १८ वर्षीय अनुस राना साेही ठाउँको सामुदायिक वनको रूखमा झुन्डिएको अवस्थामा फेला परेका थिए।
त्यसबेला आफन्तले उनको हत्या भएको बताए पनि सामान्य जाहेरी दिएका थिए। तर नाम किटान गरेका थिएनन्।
माघ २६ गते भने अनुसको हत्या आराेपमा उनको परिवारले ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता गराए।
जाहेरीको आधारमा बेलाैरी नगरपालिका-९ का वडाध्यक्ष किसन सिंह रानासहित साेही ठाउँका स्थानीय सुकदेव राना, भंगी राना, अनिरुद्र राना, दुक्खो राना र सुरज राना पक्राउ परेका छन्।
पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान जारी राखेको छ।
अनुसन्धान पूरा गरेर केही समयपछि अदालतमा पेस गर्ने तयारी भइरहेको डिएसपी डाँगीले जानकारी दिए।
मृत फेला परेका किशोर मजदुरी गर्ने काम गर्दै आएका थिए।