उच्च अदालत बार एसोसिएसन पाटनले सरकारले निषेधित क्षेत्र तोक्नु असंवैधानिक निर्णय भएको ठहर गरेको छ।
'संविधानद्वारा प्रत्याभूत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रतामा संकुचन र नियन्त्रण गर्ने गरी काठमाडौं उपत्यकाका विभिन्न सार्वजनिक स्थलमा भेला, जम्मा र विरोध प्रर्दशन गर्न नपाइने गरी अनन्तकालसम्म जारी गरेको कथित निषेधाज्ञाको आदेशप्रति यस बार एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ,' मंगलबार एसोसिएसनले जारी विज्ञप्तिमा भनिएको छ।
नागरिकले आफ्नो विचार/गुनासो वा विरोध प्रकट गर्न सक्ने रत्नपार्क, खुलामञ्च, बानेश्वर, माइतीघर मण्डल, बालुवाटार र सिंहदरबार परिसर निषेधले नागरिकका संवैधानिक हक अधिकारलाई निर्वाध उपभोग गर्नबाट रोक लगाएको एसोसिएसनले बताएको छ।