समाज कल्याण परिषदको उपाध्यक्ष पदमा नियुक्ति प्रक्रिया अघि बढेको छ।
गत माघ १५ देखि परिषदको उपाध्यक्ष रिक्त छ।
यसअघिकी उपाध्यक्ष मोनिका भट्टराई अधिकारीले पदबाट दिएको राजीनामा माघ १५ मा स्वीकृत भएको थियो। मेरिकी पिआर (स्थायी बसोबास अनुमति) लिएको उजुरी परेपछि उनले राजीनामा दिएकी थिइन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले रिक्त उपाध्यक्ष पदमा नियुक्ति प्रक्रिया अघि बढाएको छ।
मन्त्री सुरेन्द्रराज आचार्यले परिषद उपाध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको सेतोपाटीलाई बताए।
‘परिषदको उपाध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको छ, तीन/चार जनाको निवेदन परेको छ,’ मन्त्री आचार्यले भने, ‘मन्त्रिपरिषद बैठकबाट निर्णय हुन्छ।’
परिषद उपाध्यक्षका लागि चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १३ का अनिलराज पौडेलले पनि निवेदन दिएका छन्। उनलाई उपाध्यक्ष बनाउन खोजिएको स्रोतको दाबी छ।
उनले गत माघ २६ गते उपाध्यक्ष पदमा नियुक्तिका लागि भन्दै निवेदन दिएका थिए। अनिलराज राष्ट्रपति रामचन्द्र पौडेलका भतिज रहेको र उनलाई नै नियुक्ति दिन प्रक्रिया अघि बढाएको भन्दै आलोचना भइरहेको छ।
राष्ट्रपति पौडेलनिकट स्रोतले भने अनिलराजलाई उपाध्यक्ष नियुक्तिका लागि मन्त्री आचार्यलाई दवाव नदिइएको दाबी गरेको छ।
यसअघिकी उपाध्यक्ष मोनिका पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र कांग्रेसकै नेता उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुँदा उपाध्यक्ष नियुक्त भएकी थिइन्। त्यसबेला उमाले आफ्नै बुहारीलाई परिषदको उपाध्यक्ष बनाएकोमा विरोध भएको थियो।
यो पनि: पिआर लिएको उजुरीपछि समाज कल्याण परिषद्की उपाध्यक्ष मोनिकाले दिइन् राजीनामा