लुम्बिनीस्थित अशोक स्तम्भ नजिकै बाल्ने गरिएका बत्तीले स्तम्भको पुरातात्विक संरचनामा असर पर्न थालेपछि दियो सेडलाई अन्यत्र सारिएको छ।
दैनिक सयौंको संख्यामा बालिने बत्तीको धुँवाले अशोक स्तम्भको पुरातात्विक संरचना नष्ट हुने भन्दै पुरातत्वविद्हरूले दियो सेडलाई अन्यत्र राख्न सुझाव दिँदै आएका थिए।
सोही सुझावको आधारमा अशोक स्तम्भ नजिकै राखिएको दियो सेडलाई हटाएर बाहिर निर्माण गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले जानकारी दिए।
सम्राट अशोकले ई.पु. २४९ मा निर्माण गरेको अशोक स्तम्भलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनीको अकाट्य प्रमाणका रूपमा लिइन्छ। सम्राट अशोकले अशोक स्तम्भमा कुँदेको शिलालेखबाटै बुद्ध जन्मस्थल लुम्बिनी हो भन्ने ऐतिहासिक प्रमाणिक तथ्य हो।
गौतम बुद्धप्रति आस्था जगाउँदै बालिने दियोको धुवाँबाट गौतम बुद्धको जन्मस्थल प्रमाणित गर्ने अशोक स्तम्भ नै जोखिममा पर्न थालेकोले दियो सेडलाई अन्यत्र सारिएको उपाध्यक्ष लामाले बताए।
‘लुम्बिनी चिनाउने भनेकै अशोक स्तम्भले हो, अशोक स्तम्भ नै रहेन भने लुम्बिनीको प्रमाण नै नष्ट हुने भएकोले विज्ञहरूको सुझाव अनुसार दियो सेड बाहिर निर्माण गरिएको हो,’ लामाले भने।
अशोक स्तम्भ नजिकै रहेको दियो सेड हटाएर विकास कोषले मायादेवी मन्दिरको पश्चिमतर्फ निर्माण गरेको छ। जहाँ एकै पटकमा आठ हजारसम्म दियो बाल्न सकिने छ।
संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (यूनेस्को) ले सन् २०११ मा गरेको अध्ययनमा लुम्बिनी वरिपरि निर्माण भएका उद्योगहरूको धुवाँ, धुलो, सिमेन्टका कण र स्तम्भ नजिकै बालिएको बत्तीको धुँवाले अशोक स्तम्भको पुरातात्विक संरचनालाई नकारात्मक असर परेको देखाएको थियो।
कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल कुमार उप्रेतीले पनि बत्ती बाल्दा त्यसबाट निस्कने कार्बन अशोक स्तम्भमा टाँसिएर पुरातात्विक संरचना नष्ट हुने जोखिम बढेकोले बत्ती सेडलाई अन्यत्र सार्न सुझाव दिएको बताए।
उप्रेतीले बत्तीको धुवाँ, लुम्बिनी वरिपरिका सिमेन्ट र इट्टा उद्योगबाट निस्किने धुवाँ र धुलोका कण मात्र नभई लुम्बिनी पुग्ने पर्यटकहरूले श्रद्धापूर्वक अशोक स्तम्भभित्र सिक्का, दूध तथा फलफूल समेत चढाउने गर्दा पनि अशोक स्तम्भमा नकारात्मक असर परिरहेकोले त्यसतर्फ पनि सचेत हुनुपर्ने बताए।
महायानी बौद्धिष्टहरुले आफ्नो परिवारको स्मृतीमा दियो बाल्ने गर्दै आएकोमा पछिल्ला दिनहरूमा लुम्बिनी पुग्ने अधिकांश पर्यटक तथा तिर्थालुहरूले दियो बाल्ने प्रचलन बढ्दै गएको छ।
व्यवस्थित रूपमा दियो स्थल निर्माण भएपछि धार्मिक एकता र साँस्कृतिक सम्बन्धसँगै आन्तरिक आम्दानी समेत वृद्धि भएको लुम्बिनी विकास कोषले जनाएको छ।
बत्तीबाट मात्रै गत माघ १२ गतेदेखि मसान्तसम्म १३ लाख ९ हजार ८ सय रुपैयाँ बराबरको आम्दानी भएको कोषको लेखा शाखाले जनाएको छ।