बुधबार श्रीपञ्चमी पर्व परेकाले विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै छ।
काठमाडौं उपत्यकाका काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत मन्दिरहरूमा बिहानैदेखि सरस्वती पूजा गर्नेको भीड छ।
आजकै दिन बालबालिकाहरूलाई अक्षरारम्भ गराउने प्रचलन रहिआएको छ। त्यसैले अभिभावकहरू आफ्ना बालबालिकालाई लिएर मन्दिर पुगेका छन्। उनीहरूले बालबालिकालाई मन्दिरका भित्तामा लेख्न सिकाएर अक्षरारम्भ गरेका छन्।
आजको दिन बालबालिका मात्र नभएर जुनसुकै उमेर समूहका व्यक्तिले मन्दिर पुगेर पढ्न् र लेख्न सुरू गर्ने गर्छन्। स्वयम्भूमा पनि बालबालिका मात्र नभइ ज्येष्ठ नागरिक पनि अक्षरारम्भ गरिरहेका छन्।
यसदिन विद्यालय र कलेजहरूमा पनि सरस्वतीको पूजाअर्चना हुनेगर्छ।
विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ।