त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिबारे चार जना पूर्वउपकुलपतिहरूले आफ्ना भनाइ राखेका छन्।
शुक्रबार पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनजंग शाहले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना भनाइ राखेका हुन्।
उनीहरूले त्रिभुवन विश्वविद्यालयमा दलगत राजनीतिबाट अत्यधिक अतिक्रमण हुने गरेको भन्दै त्यसबाट प्राज्ञिक कार्यक्रमहरू प्रभावित भइरहेका गुनासाहरू निरन्तर आइरहेको उल्लेख गरेका छन्।
उनीहरूको संयुक्त विज्ञप्तिमा भनिएको छ, 'विश्वविद्यालयको उपकुलपति नियुक्तिमा दलगत राजनीतिले प्रश्रय पाइरहेको अवस्थामा विश्वविद्यालय राजनीतिबाट मुक्त हुनु अव्यावहारिक हुने हुँदा उपकुलपति नियुक्ति प्राज्ञिक एवं विश्वविद्यालय हाँक्ने क्षमता भएकालाई नै प्राथमिकता दिइनुपर्छ भन्ने जनमत बढ्दै आइरहेको हामीले बुझेका छौं। अबको नेतृत्व दलगत राजनीतिबाट मुक्त गर्ने अभिप्रायले उपकुलपति नियुक्तिका लागि सिफारिस गर्न बनेको समितिले योग्य इच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको छ। विश्वका अन्य विश्वविद्यालयहरूमा प्रचलित यस्ता नियुक्तिहरूमा आफूले योग्य देखेका व्यक्तिलाई सोझै सम्पर्क गरी चयन गरेको पनि पाइन्छ। कतिले त अन्तर्राष्ट्रिय प्रतियोगिताबाट छनौट गर्ने गरेको पनि देखिन्छ।'
चार जना पूर्वउपकुलपतिहरूले विश्वविद्यालको उपकुलपतिको राम्रो छनौट सबै समस्याको समाधान नभएको पनि उल्लेख गरेका छन्। नियुक्त हुने उपकुलपतिले अन्य पदाधिकारीहरू समेतको आफ्नै टोली बनाएर काम गर्न पाए मात्र उपकुलपतिको नेतृत्व प्रभावकारी हुने समेत उनीहरूले बताएका छन्।
'उपकुलपतिले आफ्नो टोली आफैं बनाउन सक्ने प्रावधानको प्रादुर्भाव हुनु पनि उत्तिकै आवश्यक छ,' विज्ञप्तिमा भनिएको छ, 'यस प्रावधानतर्फ पनि सम्बन्धित सबैको ध्यान जाओस्, हाम्रो आग्रह छ।'
विश्वविद्यालयलाई अहिलेको समस्याबाट मुक्त गर्न व्यापक सुधार गरी अघि बढाउन सबै दलहरूको राजनैतिक सहमति प्राप्त गर्न राज्यले अग्रसरता लिनु पनि आवश्यक रहेको उनीहरूले बताएका छन्। त्रिभुवन विश्वविद्यालय राष्ट्रको एक धरोहर संस्था भएको र यसको सुधारले देशको विभिन्न पक्षमा सकारात्मक असर पर्ने विज्ञप्तिमा उल्लेख छ।
त्रिभुवन विश्वविद्यालय लामो समय नेतृत्वविहीन भएकाले अब ढिलो नगरी सिफारिस समितिले यथाशीघ्र उत्कृष्ट उम्मेदवारको सिफारिस गर्न उनीहरूले आग्रह गरेका छन्।
विश्वविद्यालयहरूको नेतृत्व चयनमा अदृश्य रूपमा भागबण्डाले आश्रय पाएमा नेपालको उच्च शिक्षालाई अझ कमजोर बनाउने उनीहरूको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा आवेदन दिएका ४३ जनामध्ये १४ जना अल्पसूची 'सर्टलिष्ट' मा परेका छन्। सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको अध्यक्षतामा गठित उपकुलपति छनोट तथा सिफारिस समितिले बिहीबार बेलुकी १४ जनाको नाम सार्वजनिक गरेको हो।
उपकुलपति सिफारिससम्बन्धी कार्यविधि २०८० अनुसार आवेदन दिएकामध्ये कम्तीमा एक तिहाइ वा १५ जनामध्ये जुन कम हुन्छ सोहीअनुसार अल्पसूची प्रकाशित गर्नुपर्ने हुन्छ। त्यसअनुसार ४३ जनामध्ये १४ जनाको नाम अल्पसूचीमा परेको हो।
प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बर्णानुक्रमअनुसार काठमाडौंकी कुशुम शाक्य, पाल्पाका केशरजङ्ग बराल, काठमाडौंका गोविन्द सुवेदी, बागलुङका चित्रबहादुर बुढाथोकी, नवलपरासीका ज्ञानेन्द्रप्रसाद पौड्याल, ओखलढुंगाका टंकनाथ धमला, चितवनका तीर्थराज खनियाँको नाम सार्वजनिक भएको छ।
साथै अर्घाखाँचीका नारायणप्रसाद वेलवासे, काठमाडौंका प्रकाश घिमिरे, काठमाडौंकै भोजराज अर्याल, बागलुङका महेन्द्रप्रसाद शर्मा, काठमाडौंका रामचन्द्र बस्नेत, अर्घाखाँचीका शिवलाल भुसाल र गुल्मीका सूर्यबहादुर थापाको नाम अल्पसूचीमा परेको छ।
उनीहरूको सोचपत्र र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण माघ २९, फागुन १ र २ गते सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा हुनेछ।