नेपालमा क्यान्सर उपचारको नयाँ विधि ‘कार-टी सेल थेरापी’को सफल प्रयोगशाला परीक्षण भएको छ।
सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपाल (सिआरएम नेपाल) ले शनिबार विज्ञप्ति जारी गर्दै यसले युनाइटेड स्टेट्स फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (युएसएफडिए)बाट प्रमाणीत सिडी-१९ कारको प्रयोगशालामा कार-टी सेलको सफलतापूर्वक परीक्षण गरेको जनाएको छ।
सिआरएम नेपालका सल्लाहकार डा. सञ्जिवन गौतमले यसको सफल परीक्षणसँगै नेपालमा पनि कार-टी सेल थेरापीको माध्यबाट क्यान्सर उपचार गर्न सकिने सम्भावनाको ढोका खुलेको बताए।
कार-टी थेरापी बायोथेरापी विधि अन्तर्गतकै एक विधि हो। अमेरिकाको नेशनल क्यान्सर इन्स्टिच्यूट (एनसिआइ) र पेन्सिलभेनिया विश्वविद्यालयमा गरिएको अध्ययनमा यो विधिबाट ९० प्रतिशतभन्दा बढी बी-सेल क्यान्सरका बिरामी पूर्ण रूपमा निको भएको डा.गौतमले जानकारी दिए।
‘कार-टी सेल एक विशेष उपचार पद्धति हो जसको प्रयोग एएलएल र एनएचएल क्यान्सर बिरामीहरूमा निकै प्रभावकारी रहन्छ,’ अमेरिकाको एस्ट्राजेनेका फर्मास्युटिकल्सको एन्कोलोजी विभागका कार्यरत समेत रहेका डा. गौतमले भने।
उनका अनुसार यो पद्धति प्रयोगमा ल्याउन सक्नु देशकै लागि ठूलो अवसर हो। विकसित देशमा यो उपचार अत्यन्त महँगो हुनेपनि उनले बताए।
‘यसमा प्रयोग हुने रिएजेन्ट र उपकरण महँगो र जटिल प्रविधियुक्त हुन्छन्। तीनदेखि पाँच करोडसम्म खर्च लाग्ने कार-टी सेल थेरापीलाई दस गुणा कम लागतमा उपलब्ध गराउने उद्धेश्य छ,’ उनले भने।
वीर अस्पतालका उपप्राध्यापक डा. रमिला शिल्पकारले यो पद्धति अन्य क्यान्सरमा पनि प्रयोग हुने क्रममा रहेको बताइन्। वीरकै वरिष्ठ कलेजो रोग विशेषज्ञ प्रा.डा सुधांसु केसीका अनुसार कार-टी सेल थेरापी क्यान्सरमात्र नभइ कलेजो, मधुमेह, स्वप्रतिरक्षा तथा मुटुसम्बन्धी रोगहरूमा प्रभावकारी देखिएको छ।
बेलायतको केभेन्ट्री विश्वविद्यालयमा कार्यरत डा. ओमो कुर्मी कार-टी सेल थेरापीले अबका केही वर्षमा उपचार पद्धतिमा महत्त्वपूर्ण हिस्सा ओगट्ने बताउँछन्। त्यसकारण औषधि व्यवस्था विभाग र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्जस्ता निकायले कार-टी सेल नेपाल ल्याउनका लागि ऐन नियमहरूको व्यवस्थामा काम गर्नुपर्ने उनले बताए।
आनुवांशिकी वैज्ञानिक बलराम गौतमले कार-टी सेल प्रविधिका लागि आवश्यक सामान पश्चिमा मुलुकबाट फ्रिजिङ कन्डिसनमा आयात गर्नुपर्ने भएकाले महँगो र ढुवानीमा जटिलता आउने बताए। यसमा सरकारले सहजीकरण गर्नुपर्ने उनले बताए।
युएसएफडीएले हालसम्म ६ वटा कार सेललाई मान्यता दिएको छ। सिआरएम नेपाल ती मान्यता प्राप्त कार-टी सेललाई औषधि व्यवस्था विभागको स्विकृतिमार्फत नेपालमै उत्पादन गर्ने लक्ष्य लिएको सल्लाहकार डा. गौतम बताउँछन्। त्यसका लागि अमेरिकी, जर्मन र ब्राजिलियन संस्थाहरूसँग सहकार्य गरिने उनले बताए।
रगत बाहेकको क्यान्सरमा कार-टी सेलको प्रभावकारिता बढाउन प्रेम्बोलिजुम्याब तथा निभोलुम्याब मिश्रित थेरापीको प्रयोग गर्न सकिने अध्ययनहरू देखाएको सिआरएम नेपालले जनाएको छ।
त्यसबारेमा नेपालमै जनशक्ति तयार पार्न तालिमका लागि विकसित मुलुकमा पठाउने व्यवस्था समेत मिलाउन लागिएको विज्ञप्तिमा उल्लेख छ। नेपाली प्रयोगशालामा पहिलो पटक सफल परीक्षण भएको भएपनि मानवमा प्रयोग गर्न अझै एक वर्ष लाग्ने वैज्ञानिकहरूको अनुमान छ।
यो परीक्षणमा स्वस्थ डोनरको टी-सेललाई ५० प्रतिशतसम्म काइमेरिक एन्टिजेन रिसेप्टर युक्त बनाइएको हुन्छ जसले २४ घन्टामा ९० प्रतिशत बी सेल क्यान्सरलाई नष्ट गर्छ।
यसले पर्याप्त मात्रामा क्यान्सर मार्ने मलिक्युल बनाउने पनि विज्ञप्तिमा उल्लेख छ। सबै अनुसन्धान मेमलियन सेल कल्चर ल्याबमा गरिएको हो जसमा फ्लोसाइटोमेट्री पदद्धतिको प्रयोग भएको छ।
सिआरएम नेपालले यसलाई अस्पतालसम्म पुर्याइ नेपाली रोगीमाझ पुर्याउन सबै निकाय तथा अस्पतालको सहयोग आवश्यक रहेको बताएको छ।