जनकपुरका सुनचाँदी व्यवसायी धरौटीमा छुटेका छन्। प्रहरीले दिएको प्रतिवेदनको आधारमा सुनको प्रचलित बजार मूल्य बराबरको रकम धरौटी लिएर चारै जना रिहा भएका हुन्।
चारै जनाबाट २४ लाख १६ हजार रुपैयाँ लिएर धरौटी उनीहरूलाई छोडिएको राजस्व अनुसन्धान विभाग पथलैया कार्यालयका प्रमुख प्रेम देवकोटाले बताए। उनीहरूमाथि अनुसन्धान भने जारी रहने विभागले जनाएको छ।
देवकोटाका अनुसार प्रहरी प्रतिवेदनमा बरामद सामानको मूल्यअनुसार कायम रकम बराबर धरौटी लिई उनीहरूलाई छाडिएको हो।
बुधबार जनकपुरधामस्थित पसलबाटै सुनचाँदी व्यवसायी बलराम साह, अरूण ठाकुर र कालिगढहरू भनिएका सिरहा मिर्चेयाका अजय सुनार र संजय सुनारलाई पक्राउ गरिएको थियो। जिल्ला प्रहरी कार्यालयले बिना बिलको खरिद गरेर ल्याएको सुनसहित चारै जनालाई राजस्व अनुसन्धान विभागको पथलैया कार्यालय पठाएको थियो।
तर प्राविधिक त्रुटिकै कारण उनीहरूलाई पक्राउ गरेको भन्दै जनकपुरधामका व्यवसायी आन्दोलनमा उत्रेका थिए।
जनकपुरधाम–४ स्थित सोनरपट्टीमा बुधबार टायर बालेर प्रहरीविरूद्ध प्रदर्शन गरेका सुनचाँदी व्यवसायीहरू बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषा नजिक टायर बालेर प्रदर्शन गरेका थिए।