त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिमा ढिलाइ भएको छ।
उपकुलपति पदका लागि प्रा.डा. शिवलाल भुसालसहित ४३ जनाले आवेदन दिए पनि नियुक्तिमा ढिलाइ भएको हो।
उपकुलपति सिफारिस समितिले विज्ञहरूको सहयोगमा आवेदकहरूको मूल्याङ्कन सुरू गरेको छ। नियुक्तिमा ढिलाइ हुने भएपछि भुसाललाई दोस्रो पटक उपकुलपति तोकिएको छ।
उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि गत कात्तिक १६ गतेदेखि सकिएको थियो।
कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले गत कात्तिक १७ गतेको निर्णयअनुसार भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएका थिए। भुसाल यसअघि त्रिविमै शिक्षाध्यक्ष थिए।
विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम उपकुलपति पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो।
ऐनअनुसार बढीमा तीन महिना निमित्त दिन मिल्छ। सो अवधि सकिएपछि फेरि उपकुलपतिको जिम्मेवारी भुसाललाई नै दिने निर्णय भएको छ।
कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले मंगलबार भुसाललाई नै फेरि उपकुलपति तोकेका हुन्।
त्रिविका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले उपकुलपति नियुक्ति नहुँदासम्म काम गर्न बुधबारदेखि लागू हुने गरी उपकुलपति जिम्मेवारी भुसाललाई तोकिएको जानकारी आएको सेतोपाटीलाई बताए।
त्रिविमा शिक्षाध्यक्ष र रजिष्ट्रार पद पनि रिक्त छ। डीनहरूलाई शिक्षाध्यक्ष र रजिष्ट्रार पदमा निमित्तको जिम्मेवारी दिइएको छ।
त्रिविलगायत विश्वविद्यालयमा राजनीतिक भागबन्डाका आधारमा उपकुलपतिसहित पदाधिकारी तोक्ने गरेमा विरोध हुन थालेपछि खुला प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति माग भएको थियो।
कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नगर्ने र मेरिटका आधारमा नियुक्त गर्ने प्रतिबद्धता जनाएका छन्।
त्रिवि कुलपति पनि प्रधानमन्त्रीलाई भन्दा अरूलाई नै बनाउनुपर्ने बहस छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय सुमना श्रेष्ठ र निशा डाँगीले प्रधानमन्त्री दाहाललाई भेटेर त्रिवि उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि नै पुनरावलोकन गर्न ध्यानाकर्षण गराएका थिए।
त्रिवि उपकुलपति सिफारिस गर्न सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको नेतृत्वमा समिति छ। यही समितिले उपकुलपति पदका लागि आवेदन माग गरेर ती आवेदकहरूको मूल्याङ्कन गरिरहेको छ।
यो पनि: त्रिवि उपकुलपतिका लागि ४३ जनाले दिए आवेदन