त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरीले अध्यागमनका कर्मचारीहरूमाथि हातपात गरेका छन्।
अध्यागमन अधिकृत छायालाल मोक्तान र विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमालमाथि प्रहरीले शुक्रबार दिउँसो हातपात गरेका हुन्।
सुरूमा प्रहरीले अधिकृत मोक्तानमाथि हातपात गरेका थिए। उनी ड्युटी सकेर डिपार्चरबाट अराइभल क्षेत्रमा आएका बेला मेटल-फ्रि एरियामा प्रहरीले चेकजाँच गरेको थियो। सो क्रममा विवाद भएपछि अधिकृतमाथि प्रहरीले हातपात गरेको स्रोतको भनाइ छ।
‘अध्यागमन अफिसर भएकाले धेरैजसो प्रहरीले चेक गर्दैन। कहिलेकाहीँ छामछुम गर्छ। प्रहरीलाई अधिकृत मोक्तानले तिमीहरू कहिले चेक गर्छौं, कहिले गर्दैनौं यो के हो? भनेर सोधेपछि विवाद भएको हो,’ स्रोतले भन्यो।
प्रहरी र मोक्तानबीच केहीबेर भनाभन भएको थियो। केही बेरमा अरू प्रहरीहरू पनि आएर मोक्तानमाथि हातपात गरेका थिए।
अधिकृत मोक्तानमाथि प्रहरीले हातपात गरेको भन्दै विमानस्थल अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमाललाई जानकारी गराइएको थियो। लगत्तै उनी त्यहाँ पुगेका थिए।
हमाल पुगेपछि अधिकृत मोक्तानमाथि प्रहरीले हातपात गरेको सिसीटिभी फुटेज हेरिएको थियो। उक्त फुटेजमा अधिकृत मोक्तानमाथि प्रहरीले हातपात गरेको देखिएको थियो।
‘अधिकृत मोक्तानमाथि हातपातबारे बुझ्न पुगेका प्रमुख हमाललाई पनि प्रहरीले हातपात गरे,’ स्रोतले भन्यो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीम ढकालले चेकिङ गर्ने क्रममा सामान्य विवाद भएको बताए।
‘चेकजाँच गर्ने क्रममा सामान्य भनाभन भएको भन्ने कुरा आएको छ, थप अन्य कुरा के-के भएको छ भन्ने बुझ्ने काम भइरहेको छ,’ उनले भने।