भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुमा उल्लास छाएको छ।
जनकपुरका विभिन्न मठमन्दिरमा भजनकीर्तन, पाठ हुनुका साथै रामधुन बजाइँदैछ।
जनकपुरभर मन्दिर, सडकपेटी लगायतका ठाउँ ठाउँमा जय श्रीराम लेखिएको झण्डा झुण्ड्याइएको छ।
जानकी मन्दिर परिसर फूल मालाले सजाइएको छ। आज बेलुकी ५ बजे मन्दिरमा सवा लाख दीप प्रज्वलनका लागि दियो ठीक पारिएको छ।
मन्दिर परिसरमा फूलले जय श्रीराम, धनुष र रामको चित्र कोरिएको छ। प्राण प्रतिष्ठाकै अवसरमा केहीबेरमा नगर शोभा यात्रा निकाल्ने तयारी छ।
जानकी मन्दिरबाट निस्किने शोभा यात्रा विभिन्न चोक परिक्रमा गरी पुनः मन्दिरमा पुगेर विश्राम गर्नेछ। दिपोत्सव सम्पन्न भएपछि बेलुकी ६ बजे मन्दिर परिसरमै महागंगा आरतीको आयोजना गरिनेछ।
गंगा सागर पोखरीमा सधैं हुने यो आरती आज विशेष दिन भएकाले जानकी मन्दिरमा हुन लागेको मन्दिरका पुजारी ऋषिकेश झाले बताए।
प्राण प्रतिष्ठाको अवसरमा धनुषा र महोत्तरीलगायत विभिन्न जिल्लाका स्थानीय तहले सार्वजनिक बिदा समेत दिएको छ।
जनकपुरधाम उपमहानगरले नगरमा आज मासु र मदिराको बिक्री वितरणमा रोक लगाएको छ।