दाङको भालुवाङमा शुक्रबार बस दुर्घटना हुँदा १२ जनाले ज्यान गुमाए।
प्रहरीले तीव्र गतिका कारण दुर्घटना भएको भनेको छ। बसमै सवार रहेकाहरूले पनि तीव्र गतिकै कारण दुर्घटना भएको भनेका छन्।
सिधा बाटो र पुलमा कसरी दुर्घटना भयो भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
दाङ जिल्लाभरि बर्सेनि सयौंले सवारी दुर्घटनामा ज्यान गुमाएको तथ्यांक छ। गएको ६ महिनामा मात्रै ४३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्।
दाङका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर किरणप्रकाश मल्लका अनुसार २०७५ यता दाङमा ४२५ जनाको मृत्यु भएको छ। सो अवधिमा १ हजार ११ जना घाइते भएको तथ्यांक छ।
आर्थिक वर्ष ०७५/०७६ मा १८४ वटा दुर्घटनामा १०४ जनाको मृत्यु, ०७६/०७७ मा १९३ दुर्घटनामा ७१ जनाको मृत्यु भएको छ।
त्यस्तै २०७७/०७८ मा २१२ दुर्घटनामा ७७ जना, आर्थिक वर्ष २०७८/०७९ मा २०३ दुर्घटनामा ९५ जना, गत आर्थिक वर्षमा १४८ दुर्घटनामा ५५ जना र चालु आर्थिक वर्षको मंसिर १२ गतेसम्म २३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर मल्लले बताए।
मानवीय कमजोरी, तीव्र गति र सडकको अवस्थाका कारणले दुर्घटना बढी हुने इन्स्पेक्टर मल्ल बताउँछन्।