सुनसरीको इटहरीमा जलन अस्पताल निर्माण हुने भएको छ।
आगलागीमा घाइते भएका लगायतका बिरामीहरूको उपचारका लागि १ सय शय्याको उक्त अस्पताल निर्माण गर्न कोशी प्रदेश सरकार र जन स्वास्थ्य सरोकार ट्रष्टबीच बुधबार सम्झौता भएको छ।
मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयकी सचिव डा सुधा देवकोटा र ट्रष्टका कार्यकारी निर्देशक डा. गौरी प्रधानले उक्त अस्पताल निर्माणका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
ट्रष्टले इटहरी उपमहानगर ११ पकलीस्थित भवानीपुरमा ७ वर्ष अगाडि खरिद गरेको २ विघा १० कठ्ठा जग्गामा ५० शय्या जलन र ५० शय्या सामान्य गरी १ सय शय्याको जलन अस्पताल निर्माण गर्न लागेको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रदेश सरकारले ट्रष्टसँग सम्झौता गरेर तीन महिनाभित्र उक्त अस्पताल निर्माण सुरू गर्न १ करोड ५० लाख बजेट दिन सम्झौता गरेको छ।
४० करोड लागतमा निर्माण हुने उक्त अस्पतालका लागि आवश्यक थप बजेट दिने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाएका छन् । अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन ट्रष्टले गर्ने कार्यकारी निर्देशक प्रधानले बताए।
उनले प्रदेश सरकारले अस्पताल निर्माणका लागि दिएको अनुदान सहयोग गरे बापत कोशी प्रदेशका बिरामीलाई सहज र सुलभ रूपमा उपचार सेवा प्रदान गर्ने सम्झौतामा उल्लेख छ। उक्त अस्पतालले जलनसम्बन्धी विशेषज्ञ र विशिष्टिकृत सेवा प्रदान गरिने समेत सम्झौता पत्रमा उल्लेख छ।
ट्रष्टले किर्तिपुर नगरपालिकासँगको सहकार्यमा किर्तिपुर अस्पताल, काठमाडौं मोडेल अस्पताल सञ्चालन गरेको र काठमाडौं बाहिर सात वटै प्रदेशमा जलेको, पोलेको, ओठ तथा तालु फाटेको, बोलीको तालिमलगायतको सेवा प्रवाह गर्दै आएको छ।
मुख्यमन्त्री कार्कीले कोशी र मधेस प्रदेशका आगलागीमा घाइते भएका बिरामीलाई लक्षित गरी इटहरीमा उक्त अस्पताल निर्माण प्रक्रिया सुरू गरेको बताएका छन्।