गाँजा मिसाएर केक बेचेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका-१७ का २६ वर्षीय मोहमद फाजिल र दक्षिणकाली नगरपालिका-३ घर भई ललितपुर महानगरपालिका-१३ बस्ने २७ वर्षीय शालोम सादा लेप्चा जैसी पक्राउ परेका हुन्।
उनीहरूलाई लागु औषध ब्युरो कोटेश्वरबाट खटिएको टोलीले मंगलबार सोहखुट्टेबाट पक्राउ गरेको एसपी चक्रराज जोशीले जानकारी दिए।
उनीहरूले इन्स्टाग्राम sweetbakery_np नामको अकाउन्ट बनाएर लागु औषध गाँजा प्रयोग गरी केक, कुकिज बनाई बिक्री गर्ने गरेको सूचना व्युरोले प्राप्त गरेको थियो।
उनीहरूले ललितपुर महानगरपालिका-१३ स्थित एकान्त कुनामा घर भाडामा लिई केक, कुकिज बनाउने गरेको पाइएको एसपी जोशीले जानकारी दिए।
उनका अनुसार उक्त कोठाबाट १ केजी एक सय ग्राम गाँजा, डाँठसहित गाँजा १ केजी ५६८ ग्राम, बिक्री गर्न तयारी अवस्थामा राखेको केक १ केजी ९ सय ग्राम, माइक्रोओभन १ थान, तयारी अवस्थामा राखिएको बटर ९ सय ग्राम, चक्लेटको फ्लेभरलगायतका सामान पनि बरामद भएको छ।
उनीहरूले आफूले बनाएका केक र कुकिजहरू अनलाइन डेलिभरी गर्ने गरेको अनुसन्धानमा खुलेको छ।
उनीहरूलाई इस्टग्राममा ७ सय ८४ जनाले फलो गरेको पाइएको छ। आफूलाई फलो गरेका र विश्वासिलो व्यक्तिहरूलाई मात्र केक, कुकिज अनलाइन डेलिभरी गर्ने गरेको एसपी जोशीले जानकारीदिए
पुस २२ गते गाँजा मिसावट गरी अवैध रूपमा केक बेचको आरोपमा एक जना पक्राउ परेपछि उनीहरूले custombakery_np नामको पेजलाई परिवर्तन गरी sweetbakery_np पेज बनाई कारोबार गरिरहेको पाइएको उनले बताए।