काठमाडौं विश्वविद्यालयको निर्देशनविपरीत सिनामंगलस्थित केएमसी अस्पतालले आवासीय चिकित्सक विशद दाहाललाई बुधबार पनि अस्पताल छिर्न दिएको छैन।
दाहाल बुधबार बिहान अस्पताल पुगे पनि उनलाई रोक्न गेटमा गार्डहरू तैनाथ गरिएको छ। अहिले पनि आफू अस्पताल बाहिरै रहेको र पटक-पटक छिर्ने प्रयास गर्दा गार्डहरूले प्रतिरोध गरेको दाहालले जानकारी दिए।
'हामी अस्पताल छिर्न भनेर बिहान साढे आठ बजे आएका थियौं तर गेटमा टन्नै बाउन्सरहरू राखिएको छ। हेर्दा सुरक्षा गार्ड देखिन्छन् तर उनीहरू अस्पताल प्रशासनको निजी प्रयोगका लागि खटिने बाउन्सरहरू हो,' दाहालले भने, 'बिहानदेखि नै चार-पाँच पटक छिर्ने प्रयास गरियो तर छिर्न दिएको छैन।'
अहिले दाहालसहित आवासीय चिकित्सकको टोली अस्पताल बाहिर धर्ना दिइरहेका छन्।
अस्पताल भने दाहालमाथि लगाइएको निलम्बन कुनै पनि हालतमा फिर्ता नगर्ने अडानमा छ। जबकि काठमाडौं विश्वविद्यालयले मंगलबार नै दाहालमाथि लगाइएको निलम्बन नियमसंगत नभएको भन्दै निलम्बन फिर्ता गर्ने अस्पताललाई पत्राचार गरेको थियो।
तर विश्वविद्यालयको निर्देशनलाई अवज्ञा गर्दै केएमसीले दाहाललाई अस्पताल प्रवेशमा रोक लगाएको छ।
काठमाडौं विश्वविद्यालयका डीन मनोज हुमागाईंले भने अस्पताललाई निलम्बन फिर्ता गर्न पत्र पठाइसकिएको बताए पनि अस्पतालले भने इन्टरनेटको कारण देखाउँदै पत्र प्राप्त नभएको जनाएको छ।
अस्पतालले इन्टरनेट नचलेको बहाना गरेपछि आन्दोलनरत चिकित्सक टोलीले बुधबार परेवाको खुट्टामा पत्र बाँधेर प्रशासनलाई पठाउँदै सांकेतिक दबाब दिएको छ।
गत बिहीबार अस्पतालले स्वास्थ्य शिविरमा सहभागी नभएको कारण देखाउँदै दाहाललाई एक महिनाको लागि निलम्बन गरेको थियो।
दाहाल भने आफूले पाठ्यक्रममै नभएको स्वास्थ्य शिविर कार्यक्रममा आवसीय चिकित्सकहरूलाई अत्याधिक खटाएकोप्रति विरोध गरेका कारण अस्पतालले आफूमाथि प्रतिशोध साँधेको बताउँछन्।
दाहालसहितको आवासीय चिकित्सक टोली बिहानबाटै धर्नामा बसेपछि अस्पताल प्रशासनबाट केपी शर्मा आन्दोलनरत टोलीसँग कुराकानी गर्न पुगेका थिए। यद्यपि उनले पनि समस्यालाई निदान गर्ने भन्दा पनि उल्टै धम्की दिएको उल्लेख गर्दै दाहालले भने, 'उहाँ आएर विश्वविद्यालयको निर्देशनलाई हामी मान्दै मान्दैनौं, पहिले आयोगलाई पनि होस्टेल काण्डमा नमानेकै हो भनेर भन्नुभयो। उल्टो हामी सबैलाई निस्कासित गर्दिन्छु भनेर धम्की दिनुभयो।'
यो पनि:
विश्वविद्यालयको निर्णय अवज्ञा गर्दै डा. दाहाललाई अस्पताल छिर्न दिएन केएमसीले
डाक्टर दाहालमाथि केएमसीको प्रतिशोध