आवासीय चिकित्सक विशद दाहाललाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अस्पताल छिर्न दिएको छैन।
काठमाडौं विश्वविद्यालयले चिकित्सक दाहालमाथि लगाएको निलम्बन तत्काललाई स्थगन गर्न भन्दै मंगलबार गरेको पत्राचारलाई बेवास्ता गर्दै उनलाई अस्पताल छिर्न रोक लगाएको छ।
विश्वविद्यालयले निलम्बन फिर्ता गर्न पत्र पठाएपछि दाहाल अस्पताल पुगेका थिए। तर उनलाई अस्पतालका सुरक्षाकर्मीले गेटमै रोकेका छन्।
गत बिहीबार अस्पतालले स्वास्थ्य शिविरमा सहभागी नभएको कारण देखाउँदै दाहाललाई निलम्बन गरे पनि काठमाडौं विश्वविद्यालयले सो निलम्बन नियमसंगत नभएको जनाएको थियो।
सोहीअनुसार मंगलबार विश्वविद्यालयले दाहालमाथिको निलम्बन फिर्ता लिन अस्पताललाई पत्राचार गरेको थियो।
तर अस्पतालले इन्टरनेटको समस्या देखाउँदै पत्र प्राप्त नभएको बताएको उल्लेख गर्दै विश्वविद्यालयका डीन मनोज हुमागाईंले भने, 'नेट नचलेका कारण पत्र पाएका छैनौं भनेर अस्पतालले भनिरहेको छ अब भोलिसम्म हेरौं।'
डीन कार्यालयले पठाएको पत्रलाई अस्पतालले अवज्ञा गरे त्यसअनुसार नै निर्णयमा पुगिने उनले बताए।
चिकित्सक दाहालको भने अस्पतालले आफूलाई प्रतिशोध साँध्नका लागि निलम्बन गरेको बताएका थिए।
पाठ्यक्रममै नभएको स्वास्थ्य शिविर कार्यक्रममा आवासीय चिकित्सकलाई अत्यधिक खटाएकोप्रति आफूले विरोध गरेका कारण अस्पतालले प्रतिशोध साँधेको उनको भनाइ छ।