वरिष्ठ पत्रकार तथा पत्रकारिताका शिक्षक गोकुलप्रसाद पोखरेलको निधन भएको छ।
८७ वर्षका पोखरेलको सोमबार निधन भएको हो। मुटु र फोक्सोसम्बन्धी समस्याबाट केही समयदेखि पोखरेल पीडित थिए।
त्रिभुवन विश्वविद्यालय रत्न राज्यलक्ष्मी क्याम्पसले स्नातक तहमा पत्रकारिता पठनपाठन सुरू गर्दा पोखरेल संस्थापक शिक्षकमध्ये एक रहेको जनाएको छ।
पत्रकारिता तथा आम सञ्चार विभागका विभागीय प्रमुख श्रीराम पौडेलका अनुसार क्याम्पसले स्नातकोत्तर तह पठनपाठन सुरू गर्दा पनि पोखरेलको योगदान थियो।
‘त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता शिक्षाअगाडि बढाउनुका साथै नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक महासचिव र पछि अध्यक्षका रूपमा पनि उहाँको योगदान रह्यो,’ उनले भने, ‘रासस र गोरखापत्रको सम्पादकका रूपमा नेतृत्वदायी भूमिकामा पनि रहनुभयो।’
उनले पत्रकारिताको व्यावसायिक विकासका लागि तालीम र मर्यादित पत्रकारिताका लागि वकालत गर्दै आएको पनि पौडेल बताउँछन्। ‘नेपालको समग्र पत्रकारिता तथा पत्रकारिता शिक्षामा उहाँले पुर्याउनु भएको योगदान सधैं स्मरणमा रहनेछ,’ पौडेलले भने।