भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्ष–२०२४ तत्कालका लागि स्थगन गरेको छ।
सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रूपमा मनाउन महानगरपालिकाले विभिन्न तयारी गरेको थियो। आगामी पुस १६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रमण वर्षको सुरू भएको घोषणा गर्ने कार्यक्रम थियो। तर शुक्रबार बिहानको महानगरपालिकाको ८९ औं कार्यपालिका बैठकले यो कार्यक्रमलाई तत्कालका लागि स्थगन गरेको छ।
भ्रमण वर्ष मूल समारोह समितिका सदस्य–सचिव महानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले पुस २२ गते हुने १४ औं नगर अधिवेशनले भ्रमण वर्षको नयाँ कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए।
भरतपुरको मुख्य सहरी क्षेत्र चौबिसकोठी–पुलचोक सडक खण्डको निर्माण कार्य नसकिएको, नारायणगढ–बुटवल सडक खण्ड, मुग्लिन–पोखरा सडक निर्माणाधीन रहेको, मुग्लिन–नारायणगढ सडक दैनिक केही घण्टा बन्द गरेर पुल निर्माणको काम गर्न लागिएकाले भ्रमण वर्षलाई असर परेको उनले बताए।
मेयर रेनु दाहालले सडक संरचनाहरू निर्माणाधीन रहेको र केही पर्यटकीय पूर्वाधारहरू समेत निर्माणको क्रममा रहेकाले भ्रमण वर्ष केही पर सार्नु उचित देखेको बताइन्। उनले जनसमुदाय, बुद्धिजीवी, निजी क्षेत्र समेतको रायको आधारमा कार्यपालिकाको बैठकले भ्रमण वर्षको कार्यक्रम सार्ने निर्णय गरेको बताइन्।
सन् २०२४ भित्रैमा भ्रमण वर्षको उद्घाटन हुने दाहालले बताइन्।
२०८१ साललाई भ्रमण वर्षको रूपमा मनाउने निर्णयको तयारी भइरहेको स्रोतले बतायो।
पूर्व–पश्चिम राजमार्गको भरतपुरस्थित पुल्चोक–गोन्द्राङ खण्डको निर्माण कार्य नसकिँदा भरतपुर अस्तव्यस्त बनेको छ। बजेटको अभावमा यो सडकको निर्माण सुस्त छ।
नारायणगढ–मुग्लिन सडकमा तुइन खोलाको पुल तथा एप्रोच सडक निर्माणका लागि कडा चट्टानी पहाड फुटाउन शनिबारदेखि पुस २८ गतेसम्म दिउँसो ११ देखि ३ बजेसम्म यो सडक बन्द गरिँदैछ।