रिंगटा लाग्नु भनेको वरिपरि घुमाउनु हो। यस्तो बेला वरिपरिको सबै वस्तु घुमेको जस्तो हुन्छ। कतिपय अवस्थामा घर, रूख अनि आफू अगाडिको पहाड नै घुमेकोजस्तो हुन्छ। त्यस्तै, अगाडि अँध्यारो हुने, मान्छे धकेलिने, शरीर सन्तुलनमा नआउने समस्या हुन्छ। कहिलेकाहीँ हिँड्दाखेरी सतह तलमाथि भए जस्तो हुने हुन्छ भने एन्जाइटी, डिप्रेसन भएका बिरामीलाई सन्तुलनमा समस्या आउँछ। अँध्यारो भएर बेहोस हुन लागेजस्तो समेत हुन्छ।
शरीर सुख्खा भयो, खाली पेट भयो, बस्दाबस्दै जुरूक्क उठ्दा, घाममा धेरै समय बस्दा समेत रिंगटा लाग्छ। बढी उमेर भएकाहरूलाई सन्तुलनको कमी भयो भने रिंगटा लाग्छ। घाँटीको हड्डी खिइँदै गयो भने पनि रिंगटा लाग्छ। माइग्रेनका बिरामी अनि कानको समस्या भएकाहरूलाई समेत रिंगटा लाग्छ। कस्तो बेलामा रिंगटा खतरानक हुन्छ भनेर बुझ्न जरूरी छ। रिंगटासँगै निल्न गाह्रो भयो, हिँड्न गाह्रो भयो, र्याल चुहिन थाल्यो, टाउको दुखेको छ र प्रेसर बढेको छ भने त्यस्तो अवस्थामा अस्पताल जान जरूरी छ।
यसको उपचारको लागि रिंगटा लाग्नुको कारण थाहा पाउनु पर्छ। सामान्यत: २० देखि ३० प्रतिशतलाई रिंगटा लागिरहेको हुन्छ। कतिपय अवस्थालाई सामान्य मानिन्छ। तर रिंगटा लागिरह्यो र त्यसले अप्ठ्यारो पार्यो भने नाक, कान, घाँटी रोग विशेषज्ञ, जनरल फिजिसियन र नसा रोग विशेषज्ञलाई देखाउन सकिन्छ। उनीहरूकै सुझावको आधारमा थप उपचार समेत गर्न सकिन्छ।
कुनै पनि बेलामा रिंगटा लाग्यो भने तत्कालै आराम गर्नुपर्छ। सम्भव भएमा सुत्ने अनि आँखा बन्द गर्नुपर्छ भने निन्द्रा लाग्यो भने सुत्नुपर्छ। नियमित व्यायाम गर्ने गरेमा यसलाई कम गर्न सकिन्छ।
रिंगटा लाग्ने समस्या हुनेहरूले रक्सी, चुरोट, सुर्तीलगायत सेवन गर्नु हुँदैन। हुन त यस्ता पदार्थ कसैले पनि नखाएको राम्रो हो। त्यस्तै अग्ला ठाउँमा जाने, एक्लै घुम्ने गर्न हुँदैन भने सवारी साधन हाँक्न हुँदैन।
(कन्सल्टेन्ट फिजिसियन डा. निमेश पौडेल अल्का अस्पताल, जावलाखेल, एभरेस्ट अस्पताल नयाँ बानेश्वर र ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा कार्यरत छन्।)