क्रिटिकल केयर भन्नाले गम्भीर बिरामी भएकाहरूलाई दिइने उच्चतम सुरक्षा र उपचार हो।
एक वा धेरै अंगमा कुनै पनि किसिमिको अस्वस्थता भएका बेलामा आवश्यक हेरचाह गर्नुलाई क्रिटिकल केयर भनिन्छ
गम्भीर संक्रमण भएका बिरामीलाई आइसियुमा राखेर यस्तो उपचार चाहिन्छ। जस्तो, मुटुका गम्भीर बिरामी, विभिन्न कारणले भेन्टिलेटरमा पुगेका बिरामीलाई सघन उपचार केन्द्रमा राखेर उपचार गरिन्छ।
यस्ता बिरामालई होस खुलेपछि मात्र अरू बेडमा राखिन्छ। भेन्टिलेटरले समेत काम नगरेको अवस्थामा एक्मो भन्ने प्रविधि समेत प्रयोग गरिन्छ। यस्तो प्रविधि निकै कम अस्पतालमा छ। अक्सिजन कम हुनुको कारण पत्ता लगाएर थप उपचार गरिन्छ। जस्तो, विष सेवन गरेका बिरामीको अक्सिजन धेरै कम छ भने शरीरबाट विष नजाँदासम्म एक्मोमा राखेर अक्सिजन पुर्याइन्छ। त्यसपछि मात्रै थप उपचार गरिन्छ।
आइसियुमा राखेपछि बिरामीका आफन्तहरू आत्तिन्छन्। यो स्वाभाविक पनि हो। तर आइसियु र भेन्टिलेटरमा राख्ना साथ बिरामी फर्किँदैन कि भन्ने सोच गलत हो। उपचार गरेर निको बनाउने अनि अरू बेडमा सार्न आइसियुमा लैजाने हो। धेरैभन्दा धेरै बिरामी उपचार गरेरै फर्किन्छन् भनेर बुझ्न जरूरी छ।
अपरेसन गर्नुभन्दा पहिला र अपरेसनपछि समेत बिरामीलाई आइसियुमा राख्नुपर्ने हुन सक्छ। कहिलेकाहीँ बिरामीको निगरानीका लागि पनि आइसियुमा राखिन्छ। आइसियुमा रहने जनशक्तिले यसको गम्भीरता बुझेको हुनुपर्छ। पूर्ण रूपले तालिम प्राप्त जनशक्तिले मात्रै आइसियुमा काम गर्न सक्छन्। हरेक बिरामीका लागि एक जना नर्सले हेरचाह गर्नुपर्छ।विशेष गरेर भेन्टिलेटरमा रहेका बिरामीको लागि त अझै जरूरी छ।
आइसियुमा रहेका बिरामी भेट्न आउने आफन्त र शुभचिन्तकले समेत धेरै कुरा जान्न जरूरी छ।
सबभन्दा पहिला मेरो बिरामीले विशेष खालको सेवा पाएको छ भनेर बुझ्नुपर्छ। आइसियुमा जति धेरै मान्छे आउने जाने भयो, बिरामीलाई त्यति असर गर्छ। त्यसैले बिरामी भेट्न आउन जति कडाइ गर्यो, त्यति फाइदा हुन्छ।
तर हाम्रा बिरामी र उनीहरूलाई भेटन् आउनेहरू त्यो बुझ्दैनन्। ठूलो समूहमा भेट्न आउने चलन छ। कहाँ कहाँबाट आउनुभएको हुन्छ अनि भेट्न भनसुन समेत गर्ने चलन छ। उहाँहरूका लागि ठीकै होला। तर त्यस्तो नगर्दिए हुन्थ्यो भन्ने हामीलाई लाग्छ। किनकि जति धेरै मान्छेको ओहोरदोहोर हुन्छ, त्यति नै संक्रमणको जोखिम बढ्छ।
हामीले बिरामी र बिरामीका आफन्तलाई काउन्सिलिङ गरेका हुन्छौं। तर भेट्न आउने सबैले बिरामीबारे बुझ्न खोज्छन।हामीले सकेसम्म बुझाउने कोशिस गर्छौं। तर सधैं सम्भव हुँदैन।
अर्को कुरा, बाहिरबाट आउनेहरूले अस्पतालको बाथरूम, ट्वाइलेट प्रयोग गर्दा कतिपय संक्रमण समुदायमा समेत जाने खतरा हुन्छ।
आइसियुमा रहेका बिरामीलाई कति जनाले भेटेको राम्रो भनेर कुनै अनुसन्धान त भएको छैन। तर बिरामीको हितका लागि र अस्पतालको वातावरण खलबलिन नदिने हो भने एक\दुई जनाले मात्र भेटेको राम्रो हो। सामान्य बेडमा रहेका बिरामीलाई पनि धेरैले नभेटेको राम्रो हो। त्यहाँ पनि एक\दुई जनाले मात्रै कुरेको राम्रो हो।
बिरामी भेट्न आउँदा बाहिरबाट धेरै खाना नल्याएको राम्रो हो। कतिपयले बिरामीलाई फूल नै लिएर भेट्न जान्छन्। यस्तो गर्दा झन् संक्रमण फैलिन सक्छ। त्यसैले सकेसम्म बिरामीलाई भेट्न जाँदा केही पनि लैजान हुँदैन।
(श्वासप्रश्वास तथा सघन उपचार विज्ञ प्रा. डा. अर्पणा न्यौपाने नेपाल मेडिसिटी अस्पतालमा कार्यरत छिन्।)