संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले प्रतिवेदनमा आफ्नो नाम नराखेको भन्दै अधिकृतमाथि हातपात गरेका छन्।
उपसचिव गैरेले अधिकृत सिर्जना तण्डुकारमाथि झापड हानेका हुन्।
यो घटना मंगलबार बिहान पौने ११ बजेतिरको हो।
‘मंगलबार बिहान करिब पौने ११ बजेतिर उहाँ (रामप्रसाद) सम्पूर्ण विवरण शाखाभित्र छिरेर मैले गरेको काम बिगार्ने तैं होइनस् भनेर अधिकृत तण्डुकारमाथि एक झापड हानेर निस्कनुभयो,’ एक कर्मचारीले सेतोपाटीसँग भने।
आफूमाथि हातपात भएको भन्दै अधिकृत तण्डुकारले उपसभामुख इन्दिरा रानालाई जानकारी गराइसकेकी छन्।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले यो घटनाबारे आफूले बुझिरहेको सेतोपाटीलाई बताए। घटनापछि अधिकृत तण्डुकारको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणका क्रममा तण्डुकारमाथि हातपात भएको देखिएको मेडिकल रिपोर्टमा उल्लेख रहेको ती कर्मचारीले बताए।