दोलखाको बिगु गाउँपालिका-१ बाट बरामद भएको ११ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका १४ जनामध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ।
शुक्रबार जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले सुन प्रकरणमा दावा भन्ने आकार लामा, टासी भन्ने ग्याङ रू, नुर्बु छिरिङ शेर्पा, पेम्बा तामाङ, च्याङ्बा भन्ने चस्मान तामाङ, सनद प्रधान, लाल बहादुर तामाङ, केशर तामाङ र माधवकुमार मगर गरी ९ जनालाई थुनामा पठाउन आदेश गरेको हो।
सोही प्रकरणमा पक्राउ परेका तिलक विकलाई ८८ लाख, दिपेन्द्रराज शाक्यलाई ९३ लाख ५० हजार र महिमा माझीलाई १ करोड ७९ लाख ४० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ।
उनीहरूले तस्करी गरेर ल्याइएको सुन किनेको मात्रै देखिएकाले धरौटीमा छाडिएको आदेशमा उल्लेख छ।
तस्करी गरेर ल्याइएको सुनमध्ये लालबहादुर तामाङले तिलक विकलाई ८० तोला, दीपेन्द्रराज शाक्यलाई ८५ तोला र नारायण बहादुर श्रेष्ठलाई ९० तोला बिक्री गरेको पाइएको थियो।
उनीहरू धरौटीवापतको रकम तिर्न असमर्थ भए थुनामा पठाउन पनि अदालतले आदेश गरेको छ।
असोज १० गते ञाङलुक नाकाबाट दोलखा हुँदै काठमाडौं ल्याउन लागिएको सुन प्रहरीले बरामद गरेको थियो।
सुन प्रकरणमा जिल्ला प्रहरी कार्यालय र प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले संयुक्त रूपमा अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा प्रहरीले २६ जनालाई पक्राउ गरेको थियो। पछि अन्यको संलग्नता नभेटिएपछि १४ जनाविरूद्ध मात्रै मुद्दा चलाइएको थियो।
अनुसन्धानबाट चिनियाँ नागरिक ग्याङ रू र नोर्बु छिरिङले तिब्बतमार्फत सुन तस्कर गर्ने र दोलखाबाट भरिया प्रयोग गरी काठमाडौं ल्याएर बेचबिखन गर्ने गरेको खुलेको थियो।
असोज १० गते बरामद भएको सुन असोज ८ गते दोलखा दोलखाको फलेक ञाङलुक नाका हुँदै तस्करी भएको थियो।
तिब्बत र दोलखा सीमानामा खोला छ। चीनको समूहले खोला किनारसम्म ल्याउने सुन नेपालतर्फ ल्याउन नुर्बु छिरिङले भरिया खटाउँथे र आलुको बोरामा हालेर काठमाडौं ल्याउँथे।
११ किलो सुन प्रकरणमा खोलाबाट सुन ल्याइ आलुको बोरामा राखेर काठमाडौं ल्याउन नुर्बुले सालो पेम्बा तामाङ र चस्मान तामाङलाई खटाएका थिए। तर खोलाबाट सुन ल्याएको खबर गाउँमा केशर तामाङको समूहले चाल पाएको थियो। पछि उनीहरूले बसबाट सुन राखिएको आलुको बोरा नै गायभ बनाएका थिए।
प्रहरीले केशर तामाङको डेराबाट ७ किलो र बारीबाट ४ किलो गरी ११ किलो सुन बरामद गरेपछि घटना बाहिरिएको थियो।
अनुसन्धान गर्दै जाँदा प्रहरीले त्यसअघि २२ किलो सुन तस्करी भएको पत्ता लगाएको थियो। लगत्तै त्यसमा संलग्न गिरोहलाई नै पक्राउ गरेको हो।
चीनबाट ले गोमा लामा र जिया झु भन्ने व्यक्तिले पठाएको सुन नोर्बुले भरिया प्रयोग गरी काठमाडौंमा ल्याउने र ग्याङ रू भन्ने चिनियाँ व्यक्तिले काठमाडौंमा बेचविखन गर्ने खुलेको थियो।
अदालतसमक्ष तस्करी भएको सुन बिक्रीबाट आएकोमध्ये कमिशन मात्रै राखेर अरू ले गोमा लामालाई नै फिर्ता पठाइदिने ग्याङ रूको बयान छ। त्यसको चाँजोपाँजो मिलाउन उनले सनद प्रधानलाई जिम्मा दिएका थिए।
सुन बिक्री गर्न सनदले लाल बहादुरलाई खटाएका थिए। लालबहादुरले ११ किलो सुन प्रकरण अघि नै तस्करी गरेर ल्याइएको सुन तिलक र दिपेन्द्रलाई बेचेका थिए।
सनदले गोमा लेलाई रकम भुक्तानीका गर्ने व्यवस्था महिमामार्फत मिलाएका थिए। सनदको आग्रहमा महिमाले विदेशमा रहेको आफ्नो आफन्तलाई डलरमार्फत भुक्तानी गरिदिने व्यवस्था मिलाइदिएको थिइन्। सुन तस्करीमा प्रत्यक्ष भूमिका भएका र त्यसबाट लाभ लिएकाहरूलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो।
सोही प्रकरणमा पक्राउ पेका सुनमाला तामाङ र चेतनाथ न्यौपानेलाई भने साधारण तारेखमा रिहा गर्न जिल्ला अदालत दोलखाले आदेश दिएको छ।
सुनमाला र चेतनाथ न्यौपानले तस्करीमा संलग्नता र त्यसबाट फाइदा लिएको पुष्टि नहुने देखिएको आदेशमा उल्लेख छ।