बुद्धजन्मस्थल लुम्बिनीमा कोरियाली धर्मगुरूद्वारा निर्माण गरिएको डेढ टनको 'शान्ति घन्टी'को उद्घाटन गरिएको छ।
कोरिया नेपाल मित्रता पिस पार्कमा कोरियाली बौद्ध धर्मगुरू सन्मुक हेजाको नेतृत्वमा निर्माण गरिएको उक्त घण्टीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मंगलबार उद्घाटन गरेका हुन्।
घण्टी बजाएर उद्घाटन गर्दै मन्त्री किराँतीले विश्व शान्तिको कामना समेत गरे।
घण्टी उद्घाटनपछि मन्त्री किराँतीले बुद्धभूमिबाट घण्टी बजाएर विश्व शान्तिको सन्देश दिएको बताए।
भिक्षुहरूले बुद्धजन्मस्थल लुम्बिनीमा चढाएको घण्टीले कोरिया र नेपालीबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको मन्त्री किराँतीको भनाइ थियो।
‘कोरियाले नेपालीहरूलाई रोजगारी दिएर ठूलो सहयोग गरेको छ, घण्टीमार्फत् बुद्धको सन्देश विश्वभर फैलाउन पनि सहयोगको खाँचो छ,’ मन्त्री किराँतीले भने।
लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किराँतीले गौतमबुद्धलाई जन्म दिने आमा मायादेवीको चर्चा कम हुने गरेको बताउँदै अब लुम्बिनीमा आधुनिक प्रसूति गृह निर्माण गर्नुपर्ने बताए।
‘बुद्धजस्तै सन्तान जन्माउनका लागि मायादेवी प्रसूति अस्पताल निर्माण गर्नुपर्ने छ, अस्पताल निर्माणमा पनि विश्वभरका बौद्धधर्मावलम्बीहरूले सहयोग गर्नुहुने छ भन्ने विश्वास छ,’ उनले भने।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाका तर्फबाट सदस्य सचिव सानुराजा शाक्यले सन्देश वाचन गर्दै कोरियन शान्ति घन्टीको अनावरण र उद्घाटनको अवस्थासम्म ल्याउने भिक्षु गुरू सन्मुक हेजा र कोरियाका बौद्ध धर्मावलम्बीहरूलाई धन्यवाद दिएका थिए।
शान्ति घन्टी स्थापना गर्ने कोरियाली बौद्ध धर्म गुरू सन्मुक हेजाले बुद्धजन्मस्थल लुम्बिनीमा स्थापित शान्तिको घन्टीले विश्वमा शान्ति स्थापनाका लागि सन्देश दिने विश्वास व्यक्त गरे।
हेजाले बुद्धको जन्मस्थलबाट बज्ने घण्टीले बुद्धत्वको अवस्थामा नपुगेका साधकहरूलाई साहस र शक्ति प्रदान गर्नेछ र पीडामा रहेका प्राणीहरूलाई आनन्दको अनुभूति दिने बताए।
कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. सुवणर्लाल बज्राचार्य, कोरियाली बौद्ध धर्मका जोगे अर्डरका सचिव थेजुङसा नुङदक लगायतले भनाइ राखेका थिए।
यसअघि धर्मगुरू सन्मुक हेजाकै नेतृत्वमा २००७ मा कोरिया नेपाल मैत्री शान्ति पार्क, विश्व शान्तिका लागि प्रार्थना गर्ने स्मारकको निर्माण तथा अनावरण गरिएको थियो।
यता भारतमा भएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशनबाट लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा अन्तर्राष्ट्रिय बौद्ध परिसंघको प्रेसिडेन्टमा निर्वाचित भएका छन्।
विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महाधिवेशन सोमबारदेखि भारतको नयाँदिल्लीमा सुरू भएको छ। विश्वभरका बुद्धमार्गी तथा सरकारहरू संलग्न रहेको सर्वोच्च संस्था विश्व बौद्ध शिखर सम्मेलनको महाधिवेशनमा सहभागी हुन उपाध्यक्ष डा. लामा दिल्लीमा छन्।
उपाध्यक्ष लामा विश्वभरका बुद्धमार्गी तथा सरकारहरू संलग्न रहेको सर्वोच्च संस्था आइबिसीको स्थापनाकाल सन् २०११ सालदेखि २०१६ सम्म स्थायी समिति सदस्यमा निर्वाचित भएर काम गर्दै आएका थिए।
सन् २०१७ को दोस्रो महाधिवेशनबाट अधिकार प्राप्त कार्यकारी सदस्य हुँदै सचिवमा निर्वाचित भएका थिए।
भारत सरकारको मातहतमा रहेको आइबिसीले विश्वभरका बुद्धिष्टहरूलाई एकताबद्ध गर्दै विश्वभर शान्ति स्थापनको निम्ति विभिन्न कार्यक्रमहरू अगाडि बढाउँदै आएको छ।
बुद्धिष्टसँग सम्बन्धित रहेका पुरातात्विक क्षेत्रहरूको खोज तथा अनुसन्धान गर्दै सम्बन्धित क्षेत्रहरूको संरक्षण र सवंर्द्धन गर्दै आएको छ।
उक्त संस्थाको प्रेसिडेन्टमा निर्वाचित भएपछि डा.लामाले सम्मेलनले आफूलाई अध्यक्षमा निर्वाचित गरेर पवित्र भूमि बुद्ध जन्मस्थल नेपालको सम्मान गरेको बताए।