ताप्लेजुङमा नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुका जिल्ला सह-संयोजक विवेक बानियाँमाथि खुकुरी प्रहार भएको छ।
सोमबार बिहान सवा १० बजे फुङलिङ नगरपालिका-४ पाथीभरा होटल नजिकै विवेक बानियामाथि खुकुरी प्रहार भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी ऋषिराम कंडेलले जानकारी दिए।
बानियाँमाथि सोही होटल नजिक बस्ने ३२ वर्षीय प्रेमराज लिम्बूले खुकुरी प्रहार गरेको एसपी कंडेलले बताए।
उनका अनुसार लिम्बु र बानियाबीच पुरानो लेनदेनको विषयमा झगडा भएको थियो। त्यसैबीच लिम्बूले खुकुरी प्रहार गरी बानियाँलाई घाइते बनाएका हुन्।
बानियाँको दाहिने घुँडामा चोट लागेको छ। उनलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङमा लगिएको छ। प्रहरीका अनुसार उनी बोल्न सक्ने अवस्थामा छन्।
प्रेमराज लिम्बू घटनापछि फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको छ। नेकपा एमालेका सचिव योगेश भट्टराईले यसमा संलग्न व्यक्तिमाथि कारबाही गर्न माग गरेका छन्।
उनले सोमबार सामाजिक सञ्जालमा लेख्दै उपचारको व्यवस्था मिलाउन पनि माग गरेका हुन्।
‘आज बिहान ताप्लेजुङ बजारमा अनेरास्ववियुका जिल्ला सह-संयोजक कमरेड विवेक बानियाँमाथि भएको सांघातिक आक्रमणको घोर निन्दा गर्दछु। अपराधीलाई तत्काल कारबाही गर्न र घाइते बानियाको उपचारको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु,’ उनले भनेका छन्।