क्यान्सरको उपचारका लागि सर्जिकल अंकोलोजी नभई नहुने विधा हो। जति पनि ठूला अपरेसन हुन्छन् तीमध्ये धेरै क्यान्सरकै हुन्छन्। त्यसैले सर्जिकल अंकोलोजीको अझै महत्व बढेको छ।
क्यान्सरको अपरेसन अथवा उपचार क्यान्सर अस्पतालमै भएको सबभन्दा राम्रो हो। किनकि एक जना सर्जनले, एक जना मेडिकल अंकोलोजिस्टले मात्र उपचार गरेर हुँदैन। अर्को कुरा क्यान्सर अस्पतालमा त्यही अनुसारको प्रविधि र जनशक्ति समेत हुन्छ।
मलद्वारको क्यान्सरकै उदाहरण दिने हो भने यसको उपचारका लागि सबभन्दा पहिला किमो रेडियसन दिनुपर्छ। यस्तो गर्दा बिरामीको आयु लामो हुने र अपरेसन सफल हुने अन्तर्राष्ट्रिय अनुसन्धानले देखाइसकेको छ। किमो रेडियसन गरिसकेपछि ट्युमर समेत सानो हुने भएकाले अपरेसन गर्न पनि सजिलो हुन्छ। त्यस्तो अवस्थामा बिरामीको मलद्वार समेत बच्न सक्छ। तर नेपालमा किमो रेडियसनको सुविधा नभएको अस्पतालमा समेत सुरूमै मलद्वारको अपरेसन गरिन्छ। जसले गर्दा बिरामीलाई अप्ठ्यारो पर्न सक्छ।
त्यस्तै, आमाशयको क्यान्सरको अपरेसनमा समेत पहिला किमो दिनुपर्ने अनुसन्धानले भनेको छ। यस्तो गर्दा बिरामी चाँडो निको हुने र अपरेसन समेत सहज हुने हुन्छ।
बेलायतजस्ता विकसित देशहरूमा क्यान्सरको उपचार गर्दा राष्ट्रिय स्तरमा चिकित्सकहरूसँग छलफल गरिन्छ। त्यसकै आधारमा उपचार गरिन्छ। नेपालमा पनि त्यस्तै खालको संयन्त्र बनाउन जरूरी छ।
चिकित्सकहरूको अनलाइन मिटिङ गरेर बिरामीलाई कसरी उपचार गर्ने भनेर निष्कर्ष निकाल्न जरूरी छ। यसले पहिलो फाइदा बिरामीलाई हुन्छ। किनकि बिरामीले उत्कृष्ट उपचार पाउँछ। अर्को कुरा क्यान्सरका बिरामी कति छन्, उनीहरूको अवस्था कस्तो छ भनेर समेत पत्ता लगाउन सकिन्छ।
त्यस्तै, प्रोटोकलको आधारमा उपचार समेत हुन सक्छ।
(सर्जिकल अंकोलोजिस्ट डा.पुण्यराम खर्बुजा भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत छन्।)