पेटमा रहेको बच्चाको विकासक्रम थाहा पाउनको लागि अल्ट्रासाउण्ड गर्नु नेपालमा सामान्यजस्तै भइसकेको छ। नेपालजस्ता देशहरूमा अल्ट्रासाउण्ड सहजै उपलब्ध हुने र सस्तो मोडालिटी हो।
विश्व स्वास्थ्य संगठनको गाइडलाइन अनुसार ४ देखि ५ पटकसम्म अल्ट्रासाउण्ड गर्नुपर्छ। त्यसमा पनि सबभन्दा महत्वपूर्ण भनेको ३ महिना र ५ महिनाको अल्ट्रासाउण्ड हो। ३ महिनाको अल्ट्रासाउण्डमा डाउन सिन्ड्रोम लगायतको पहिचान गरिन्छ। ५ महिनामा बच्चाको मस्तिष्कदेखि हातखुट्टाको विकास भइसक्ने हुनाले त्यसपछि बच्चाको विकासक्रम मात्र हेर्ने हो। ५ महिनाको अल्ट्रासाउण्डमा कुनै खालको शंका लाग्यो भने बच्चाको एमआरआई गरिन्छ। जसलाई 'फेटल एमआरआई' भनिन्छ।
अहिले त्रिवि शिक्षण अस्पतालमा फेटल एमआरआई र फेटल इकोको स्थापना गरिएको छ। ५ महिनामा गरिएको अल्ट्रासाउण्डमा कुनै शंका लागेमा बच्चाको मस्तिष्क लगायतको विकास हेर्नको लागि फेटल एमआरआई गरिन्छ। मस्तिष्कसँगै फोक्सोको विकासक्रम समेत हेर्ने गरिन्छ। फेटल एमआरआईमा बच्चाको टाउको, हातखुट्टा, छाती, पेट र किड्नी लगायतका अन्य अंगको समेत अवस्था हेर्न सकिन्छ। त्यस्तै बच्चाको मात्र नभएर आमाको पाठेघर अनि सालको अवस्थाबारे समेत थाहा पाउन सकिन्छ।
जस्तो: ३ महिनादेखि ५ महिनामा बच्चाको विकासक्रमको स्क्यान गर्दा ओठ काटेको बच्चाहरूको ट्र्याक गर्न सकिन्छ। अल्ट्रासाउण्डले भन्दा एमआरआईले ट्र्याक गर्छ। एउटा आँखा सानो, एउटा ठूलो लगायतका समस्या छन् भने पनि यसबाटै थाहा हुन्छ। एमआरआई गरेपछि बच्चालाई कसरी अगाडि बढाउन सकिन्छ भोलिका दिनमा उपचार गर्न सकिन्छ कि सकिँदैन भनेर बच्चाको अभिभावकलाई काउन्सिलिङ गर्न समेत सहज भएको छ। अहिले कतिपय मस्तिष्क र किड्नीको समस्या देखिन थालेको छ। त्यस्तो अवस्थामा बच्चालाई जन्माउने कि नजन्माउने भनेर अभिभावकले निर्णय लिन सक्छन्।
पेटमा रहेको बच्चाको एमआरआई गर्दा कुनै साइड इफेक्ट छैन। अल्ट्रासाउण्डले समस्या देखाएको ठाउँमा मात्र एमआरआई गर्ने हो। बच्चा पाठेघरभित्र पानीमा खेलेको हुन्छ। त्यस्तो बच्चाको अवस्था हेरेर एमआरआई गर्न समय भने लाग्न सक्छ।
जस्तो: एउटा बच्चाको ओठ काटेको शंका भएको थियो। मुखको माथिको भागमा कति भित्र गएको छ भनेर हेर्नको लागि एमआरआई गरियो। प्लाष्टिक सर्जनसँग छलफल गरेर ९ महिनापछि उपचार समेत गरिएको थियो।
अल्ट्रासाउण्ड गर्दा गर्भवतीमा कुनै समस्या देखिएको छैन। बिरामीको आवश्यकताको आधारमा चिकित्सकको सुझावको आधारमा अल्ट्रासाउण्ड गर्न सकिने अनुसन्धानले देखाएको छ।एमआरआई र अल्ट्रासाउण्ड गर्दा कुनै किसिमको रेडियसन नहुने भएकाले ढुक्क भएर गर्न सकिन्छ।
(रेडियोलोजिस्ट प्रदीप राज रेग्मी त्रिवि शिक्षण अस्पतालमा कार्यरत छन्।)