भक्तपुरको जगातीमा रहेको सिख्वँ हिति र पाटी सडक विस्तारको क्रममा मासिने भएपछि अभियन्ताहरूले विरोध जनाएका छन्।
धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाका क्रममा उक्त हिति र पाटी मासिने क्रममा रहेको सम्पदा अभियन्ता याद्दवलाल कायस्थ बताउँछन्।
जगातीस्थित अरनिको राजमार्ग वारिपारी सिख्वँ हिति र पाटी छन्। कायस्थका अनुसार लकडाउनको समयमा हिति सडकले पुरिएको थियो भने पाटी जीर्ण अवस्थामा थियो।
'त्यतिबेला यो हिति पुरै धुलो र माटोले पुरिएको थियो,' उनले भने, 'हामी आफैंले सबै सफा गरेर खोतल्यौं। पारिको पाटी पनि जीर्णोधार गरी रंग लगाएर चिटिक्क पार्यौं। तर अहिले फेरि उस्तै छ।'
पहिले सबै सफा गरेर राख्दा पनि स्थानीय सरकारले चासो नदेखाउँदा फेरि हिति पुरानै जीर्ण अवस्थामा छ। लिच्छविकालमा बनेको हितिमा रहेका मूर्तिहरू पनि चोरी भएको कायस्थ बताउँछन्।
राजमार्गमा पर्ने हिति पुनः फोहोर भएको छ।
यसो त सूर्यविनायक नगरपालिका-९ का वडाध्यक्ष भगवान खत्रीले भने उक्त हिति र पाटी कसरी संरक्षण गर्ने भनेर छलफल भइरहेको बताए।
'ती हिति र पाटी संरक्षण गर्ने नै हो,' उनले भने, 'तर कसरी गर्ने भनेर छलफल भइरहेको छ। केही दिनअघि हामी निरीक्षणका लागि समेत गएका थियौं। निचोडमा पुगिसकेका छैनौं।'
त्यस्तै, उक्त हिति र पाटी रहेको स्थानमा हाल कुनै पनि काम नगरिएको धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाका साइट इञ्जिनियर विवेक पाण्डेले जानकारी दिए।
'अहिले त्यो ठाउँमा कुनै पनि काम गरेका छैनौं,' उनले भने, 'साइट क्लियर भएका ठाउँमा मात्र काम भइरहेको छ। त्यस हितिलाई स्तान्तरण गर्ने कि के गर्ने सरोकारवाला निकायसँग समन्वयन गरी निर्णय लिने छौं।'
सकभर ती सम्पदा बचाउन आफूहरू पनि लागिपर्ने उनले बताए। अहिले उक्त सडक सात मिटर चौडा दुई लेनको छ। आयोजनाले त्यहाँ ६ लेनको ३७ मिटर चौडाको सडक बनाउन लागेको हो। जसका लागि सूर्यविनायकदेखि धुलिखेलका लागि गत वर्ष नै ठेक्का आह्वान गरिएको थियो।