जाडोमा धेरै कुराको ख्याल गर्नुपर्छ। मुख्यतः जाडोमा हामीले व्यायाम नै कम गर्छौं। त्यसैले व्यायाममा ध्यान दिनुपर्छ।
अर्को कुरा, खानामा समेत नियन्त्रण गर्नुपर्छ। जाडोमा हामीलाई खाना धेरै रूच्ने भएकाले हामीले विशेष ख्याल राख्न जरूरी छ।
त्यस्तै छाला सुख्खा हुन्छ। त्यसैले पानी खानमा समेत ध्यान दिनुपर्छ। सँगै शरीरको तौल बढ्न दिनु हुँदैन। उच्च रक्तचाप, छातीको समस्या भएकाहरूले जाडोको समयमा बिहान सबेरै हिँड्नु राम्रो हुँदैन। जाडोको समयमा हृदयघात, पक्षघात, कब्जियत, छाला सुख्खा, फ्लु, निमोनिया र फंगल इन्फेक्सन लगायतको खतरा रहन्छ।
दीर्घ रोग भएकाहरूले जाडोमा अझै ध्यान दिनुपर्छ। जस्तो, उच्च रक्तचापको समस्या छ भने यसको औषधि मिलाउन पर्ने हो कि भनेर ख्याल गर्नुपर्छ। चिसोमा रक्तचाप बढ्छ। चिसोमा हृदयघातका घटना धेरै हुने भएकाले होसियारी अपनाउनुपर्छ।
त्यस्तै सुगरका बिरामीले अझै ध्यान दिन जरूरी छ। कार्बोहाइड्रेट कम खाने र तौल नियन्त्रणमा ध्यान दिनुपर्छ। सुगरको मात्रामा समेत ख्याल गर्नुपर्छ।
ठूलो पेट हुने अनि व्यायाम कम भएकै कारणले सुगर लाग्ने भएकाले यसलाई नियन्त्रण जरूरी छ। सुगरका बिरामीले सन्तुलित भोजन, व्यायाम र नियमित औषधि सेवन गर्नुपर्छ। उच्च रक्तचापका बिरामीले समेत तौल बढ्न दिन हुँदैन, नुन कम खानुपर्छ। व्यायाम गर्ने भन्दैमा जथाभाबी गर्न हुँदैन। सन्तुलित व्यायाम गरेर शरीरको तौल नियन्त्रणमा राख्नुपर्छ।
दमका बिरामीले समय/समयमा इन्फ्लुएन्जा र निमोनियाको खोप लगाएमा संक्रमणबाट जोगिन सजिलो हुन्छ।
जाडो भयो भन्दैमा जथाभाबी कपडा लगाउन हुँदैन। विशेष गरेर तीन तहमा कपडा लगाउनुपर्छ। छालासँग टाँसिने गरी एउटा कपडा, दोस्रो कपडा तातोपनका लागि र तेस्रो कपडा बाहिरको हावा रोक्न लगाइन्छ। शरीरलाई न्यानो बनाउन सकेमा रूघाखोकीको खतरा समेत कम हुन्छ। सकेसम्म हातमा पञ्जा लगाउनुपर्छ। त्यस्तो गर्न सकेमा हातमा आउने रातो फोकाबाट जोगिन सकिन्छ। तातोमा भाइरस रहन नसक्ने भएकाले यस्तो गर्नु फाइदाजनक छ।
जाडोमा धेरै तातो खाने गरिन्छ। त्यसो भन्दैमा अति तातो खाने होइन र धेरै चिसो पनि खाने होइन। मनतातो खाएको राम्रो हो।
जाडोमा पानी कति खाने भन्ने पनि हुन्छ। यति गिलास र उति गिलास भन्दा पनि आफ्नो पिसाबको रङअनुसार पानी खानुपर्छ। अर्थात् पिसाबको रङ सफा छ भने पानी पुगेको छ भनेर बुझ्न सकिन्छ।
जाडो वा गर्मी कहिल्यै पनि रक्सी खाएको राम्रो होइन। यो जहिले पनि हानिकारक नै हुन्छ। जाडो भगाउने भन्दै रक्सी खाँदा यसको लत लाग्ने हुन्छ। रक्सीले केही न केही जिउ त तताउँछ तर हामीकहाँ रक्सीले जिउ तताउनै पर्ने जस्तो जाडो पनि छैन। एउटा कपडा बढी लगाउँदा पुग्छ भने हानिकारक रक्सी किन खानुपर्यो?
जाडो या जुनसुकै मौसममा रूघा लागेमा नुनपानीले मुख कुला गर्न सकिन्छ। बेसार पानी, तुलसी पानी, मह लगायत सेवन गर्न सकिन्छ। रूघाखोकीसँगै ज्वरो समेत आयो भने चिकित्सककहाँ जानुपर्छ।
रूघाखोकी, निमोनिया, दमका बिरामीले दही खान हुँदैन भन्ने गरिन्छ। तर त्यस्तो होइन। दमका बिरामीलाई दहीको एलर्जी छ भने नखाए हुन्छ तर मेडिकल गाइडलाइनले त्यस्तो गर्न हुँदैन भनेको छैन। विशेष गरेर झाडापखाला लागेको बिरामीलाई त दहीले झनै फाइदा पुर्याउँछ।
(कन्सल्टेन्ट फिजिसियन डा. निमेश पौडेल अल्का अस्पताल, जावलाखेल, एभरेस्ट अस्पताल नयाँ बानेश्वर र ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा कार्यरत छन्।)