दाङमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शान्तिनगर गाउँपालिका- ५ का २८ वर्षीय अमृत केसीको उपचारका क्रममा आइतबार राति ९ बजेतिर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
टाउको लगायत शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेका केसीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।
बेलुकी सवा ६ बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ७ प ६५५४ नम्बरको मोटरसाइकल र घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ४ प ८४६४ नम्बरको मोटरसाइकल तुलसीपुर-१८ बिजौरीमा एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा परी रा ४ प ८४६४ नम्बरको मोटरसाइकल चालक सल्यान, शारदा नगरपालिका-१ श्रीनगरका २४ वर्षीय दिनेश बुढाथोकी घाइते भएका छन्। उनको अनुहार र बायाँ हातमा चोट लागेको र उनको अवस्था मध्यम रहेको डिएपसी पोखरेलले बताए।
बुढाथोकीले चलाएको मोटरसाइकल पछाडि सवार शारदा-६ का २४ वर्षीय कमल केसी पनि घाइते छन्। उनको बायाँ हातमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
घाइते दुवैको तुलसीपुरमै उपचार भइरहेको छ।
त्यस्तै चालकले मापसे गरेको स्वास्थ्य परीक्षणबाट पुष्टि भएको पनि प्रहरीले बताएको छ।