शुक्लाफाँटा–१० झलारीका ३५ वर्षीय रामबहादुर बिष्ट झिसमिसेदेखि साँझ नपर्दासम्म मूर्ति कोरिरहेका भेटिन्छन्।
बिहानदेखि बेलुकासम्म सिमेन्ट, धातु, ढुङ्गा र काठमा मूर्ति कोर्ने काममै व्यस्त हुन्छन् उनी। कञ्चनपुरबाहेक अन्यत्र जिल्लाबाट पनि मूर्तिको माग आउँछ। एक्लै काम गर्ने भएकाले भ्याइनभ्याइ हुने उनी सुनाउँछन्।
बाल्यकालमा पढेर सरकारी जागिरे हुने ठूलो रहर थियो उनीमा।
तर घरको आर्थिक अवस्थाका कारण उच्च शिक्षासम्म पढ्न पाएनन्। विद्यालय तहसम्म अध्ययन गरेका उनी घरको आर्थिक अवस्था सुधार गर्न काम गर्न थाले।
सुरूसुरूमा पेन्टरको काम गर्न थालेको रामबहादुर बताउँछन्। त्यसपछि ब्यानरमा लेख्ने, चित्र कोर्ने र शिलालेख गर्न सिकेपछि मूर्ति बनाउने काममा लागेको उनले बताए।
‘अरूहरूले बनाएको हेरेर मूर्ति बनाउन सिकेको हुँ। कुनै तालिम लिएको छैन,’उनले भने,‘अहिले जस्तोसुकै मूर्ति पनि बनाउन सक्छु।’
शिलालेख गर्नुपरे अहिले पनि मानिसहरू रामबहादुरलाई सम्झन्छन्। काठ, सिमेन्ट, धातु ग्रेनाइड र ढुंगामा शिलालेख गर्दा एक वर्गफिटको २ हजार ५ सय रूपैयाँ ज्याला लिने गरेको उनले सुनाए।
मूर्ति बनाउन भने १० हजारदेखि ८० हजारसम्म लिन्छन्। अहिलेसम्म साना र मझौला आकारको मूर्ति बनाएको उनलाई ठूलाठूला मूर्ति बनाउने रहर छ।
तर ठूला मूर्तिको भने माग नआएको उनले बताए।
सुदूरपश्चिमका नौ वटै जिल्लाबाट विशेष गरी मन्दिरमा राखिने मूर्ति, शिलालेख, काठका धार्मिक स्तम्भमा मूर्ति कोर्ने कार्य अधिक आउने गरेको बिष्टको भनाइ छ। स्थानीय व्यक्तिहरूलाई मूर्ति बनाउने तालिम समेत दिइरहेको उनले बताए।
मूर्ति बनाएर र शिलालेख गरेर एक महिनामा कम्तिमा ५० देखि ७० हजार कमाइ भइरहेको रामबहादुरले बताए। मूर्ति कोरेर हुने आम्दानीले अहिले घर परिवार चलाउन सहज भएको उनले बताए।
त्यहीँबाट हुने आम्दानीले एउटा छोरा र छोरीलाई प्राविधिक शिक्षा पढाइरहेका छन्। परिवारको स्वास्थ्य, शिक्षासँगै घरघडेरी पनि जोडेका छन्।
‘मूर्ति बनाउन थालेपछि खर्च अभाव भएको छैन, सबै ठाउँमा चिनिने मौका पाउँदा गौरवान्वित महशुस गर्छु,’ उनले भने।
कामकै लागि विदेशिने युवालाई उनी स्वदेशमै काम गरे मान सम्मानसँगै दाम पनि कमाउन सकिने सल्लाह दिन्छन्।