हेपाटाइटिस भनेको कलेजो सुन्निने अवस्था हो। हेपाटाइटिस हुने विभिन्न कारणमध्ये मुख्य कारण भाइरल हेपाटाइटिस हो।
हेपाटाइटिस ए, बी, सी, डी र ई हुन्छ। रक्सीको कारणले पनि हेपाटाइटिस हुन्छ। त्यस्तै डेंगी, टाइफाइड लगायत कारणले समेत हेपाटाइटिस हुन्छ।
कुनै पनि संक्रमण भयो भने त्यसले हेपाटाइटिस गराउन सक्छ।
पाँच किसिमका हेपाटाइटिसमध्ये ए र ई गम्भीर प्रकृतिका हुन्छन्। हेप टाइटिस बी, सी र डी भने दीर्घकालीन (क्रोनिक) खालका हुन्।
धेरैजसो मानिसलाई हेपाटाइटिस भएको थाहा हुँदैन। किनभने कतिपय समयमा हेपाटाइटिस लक्षणबिहीन हुन्छन्। तर हेपाटाइटिस भएपछि धेरैलाई जिउ गल्ने, दुख्ने, वाकवाक आउने, खाना अरूचि हुने, वान्ता हुने र कतिपयलाई त पखाला लाग्ने, ज्वरो आउने अनि जन्डिस देखिने हुन्छ।
सबभन्दा धेरैलाई हुने भनेको हेपाटाइटिस ए र हेपाटाइटिस ई हो। यो मौसमी समेत हुन्छ। खाना र दिसाबाट सर्ने भएकाले ज्वरो आउने, जन्डिस हुने हुन्छ। तर अहिले बढ्दो क्रममा हेपाटाइटिस बी र सी छ।
हेपाटाइटिस ए र ईको उपचारभन्दा पनि रोकथाम हो। यसको यही उपचार भन्ने हुँदैन। लक्षणका आधारमा उपचार गर्ने हो।
हेपाटाइटिस बी र सीको उपचार तरिका भने फरक छ। हेपाटाइटिस बी र सीलाई बुझ्न किन जरूरी छ भने यसले पछि गएर कलेजो बिगार्ने या क्यान्सर गराउन सक्छ।
हेपाटाइटिस सीको भाइरस कति छ भन्ने हेरेर उपचार हुन्छ। तीन महिना चिकित्सकको निगरानीमा उपचार गराएमा यो पूर्ण रूपमा निको हुन्छ।
हेपाटाइटिस बी क्रोनिक हुन थाल्यो भने यसले कलेजो खराब बनाउँछ। पहिले पहिले खोपमार्फत मात्रै उपचार हुन्थ्यो भने अहिले अलि लामो समय औषधि खानुपर्छ। नियमित स्वास्थ्य परीक्षण गरेर यसको उपचार गरिन्छ।
कसैलाई हेपटाइटिस बी भयो भने बिरामीका नजिकका आफन्तले समेत यसको परीक्षण गर्नुपर्छ। बिरामीका आफन्तलाई हेपाटाइटिस बी भएको रहेनछ भने तत्कालै खोप लिनुपर्छ। सकेसम्म हेपाटाइटिस बीको खोप सबैले लगाएको राम्रो हो। खोप लगाउनुभन्दा पहिला यसको परीक्षण गर्न भने जरूरी छ। परीक्षण गर्दा हेपाटाइटिस बी रहेनछ भने यसको खोप लगाइन्छ। यसको तीन डोज हुन्छ।
हेपाटाइटिस बी र सीको देखिने कुनै लक्षण नहुन सक्छ। तर पछि गएर कतिपयलाई जिउ दुख्ने, आलस्य हुने, केही काम गर्ने जाँगर नहुने हुन्छ। यस्ता लक्षण देखिएको केही समयपछि वाकवाक लाग्ने, जन्डिस देखिन सक्ने, पेट दुख्ने लगायत लक्षण देखिन्छ। हेपाटाइटिस बी र सी बिग्रियो भने क्यासर हुन सक्छ। हेपाटाइटिस बी र सी मध्ये पनि नेपालमा हेपाटाइटस बी धेरैलाई छ।
ट्याटु बनाउने, कान छेड्ने ठाँउबाट हेपाटाइटिस बी सर्न सक्छ। त्यस्तै असुरक्षित र धेरै व्यक्तिसँग सम्पर्क भयो भने समेत हेपाटाइटिस बी सर्न सक्छ। हेपाटाइटिस बी रगतबाट सर्ने रोग हो।
हेपाटाइटिस सी पूर्ण रूपमा निको पार्न सकिन्छ भने बीलाई रोकथाम मात्र गर्ने हो। त्यसैले सुरूमै खोप लगाएको राम्रो हो।
हेपाटाइटिस डी पनि बीसँगै जोडिएर आउँछ। कहिलेकाँही सँगै आउछ भने कहिलेकाँही बी निको हुन सकेन भने हेपाटाइटिस डी समेत हुन सक्छ। हेपाटाइटिस बीको रोकथाम गर्न सके डीको समेत रोकथाम हुन्छ। अर्थात् यसको रोकथाम भनेको पनि खोप नै हो।
(सह प्राध्यापक एवम् ग्यास्ट्रोलोजिस्ट डा. आध्याश्री कार्की किष्ट मेडिकल कलेज र फ्रन्टलाइन अस्पतालमा कार्यरत छिन्।)