काठमाडौं महानगरपालिकाले तोकेको भृकुटीमण्डपको स्टलबाट फूल बिक्री नभएको भन्दै व्यापारीहरूले दुखेसो पोखेका छन्।
काठमाडौं महानगरपालिकाले काठमाडौंको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा फूल बिक्रीको लागि स्थान तोकेर सो स्थानहरूबाट फूल बिक्री भइरहेको छ। तर सो स्थानमा फूल बिक्री गरिरहेका किसानहरूले भने समयमै प्रचारप्रसार हुन नसक्दा फूलमा घाटा व्यहोर्नु परेको बतएका छन्।
भृकुटीमण्डपका फूल व्यापारीहरूले निश्चित ठाउँ तोकेर बिक्री गर्नु राम्रो भए पनि ठाउँबारे समयमै प्रचार हुन नसक्दा सोचेअनुरूप बिक्री हुन नसकेको बताएका हुन्।
धादिङका भीमनाथ अधिकारीले २१ लाख रूपैयाँमा फूल ल्याएको बताउँछन्। ५० रुपैयाँ झुत्तामा पनि नबिकेको उनी बताउँछन्।
नेपालमा पनि उत्पादन धेरै भएकोले बिक्रीमा कमी भएको हुनसक्ने उनी बताउँछन्।
त्यस्तै, काभ्रे कोशीपारिबाट फूल बेच्न भृकुटीमण्डप आएका व्यापारी सुजन श्रेष्ठले भृकुटीमण्डप कोल्टे ठाउँ भएकाले फूल बेच्न ग्राहक नआएको दुखेसो गरे। उनले गाडी भाडा समेत नउठेको बताए।
उनले भने,‘भृकुटीमण्डप कोल्टे ठाउँ भएकोले फूल बेच्न पाएनौं। ग्राहक आएनन्। गाडी भाडासम्म उठेन। घर जानलाई गाडी भाडासम्म छैन। उल्टै ऋण गरेर जानुपर्ने भयो। यहाँ राखेर महानगरपालिकाले धेरै नराम्रो गर्यो जस्तो लाग्छ।’
त्यस्तै, ओखलढुंगाबाट फूल व्यापार गर्न आएका तेजेन्द्र विष्टले नेपाली उत्पादनको फूललाई अपहेलना गरिएको दुःखेसो गरे। उनले अझै पनि बजारीकरणको समस्या भएकाले व्यापारीले फूल खोलामा फालेर हिँड्नुपर्ने स्थिति आएको बताए।
उनले भने, ‘किसानले फूल खोलामा फालेर हिँड्नुपरेको। नेपाली उत्पादनलाई अपहेलना गरिएको छ। नेपाली उत्पादन सम्भावनाभित्र नरहेको। सरकारको ध्यान जानु आवश्यकता छ। उत्पादन भएको बजारीकरणको समस्या भएकोले किसानको दुःखदायी अवस्थामा भएको छ।’
उनले पनि फूल बिक्री स्टलको बेलैमा प्रचारप्रसार नभएकोले बिक्री हुन नसकेको बताए।