धेरैजसो बिरामी ग्यास्ट्राइटिस (ग्यास्ट्रिक) समस्या लिएर आउँछन्। पेट दुख्ने, पेट घोच्ने, वाकवाक लाग्ने, खान मन नलाग्ने समस्या लिएर आउँछन्।
उनीहरूले धेरै किसिमका परीक्षण गरेका हुन्छन्। तर यो रोग ठीक भइरहेको हुँदैन। पेट पोल्ने भइरहेको छ भने ग्यास्ट्रिकको औषधि खाँदा केही सजिलो हुन्छ तर निर्मूल हुँदैन। अहिले नयाँ तरिकाले बुझ्दा प्यानक्रियाटाइटिस भएको पत्ता लागेको छ। कतिपय बिरामी त यसको गम्भीर समस्या लिएर आइरहेका हुन्छन्।
प्यानक्रियाटाइटिस हुँदा गम्भीर खालको छ भने साह्रै दुख्ने हुन्छ। छट्पटी हुने, वान्ता हुने खालको हुन्छ। त्यस्तो बेलामा अल्ट्रासाउन्ड (भिडिओ एक्सरे) गरियो भने थाहा हुन्छ। आवश्यक पर्यो भने सिटी स्क्यान गरेर समेत हेर्न सकिन्छ।
क्रोनिक (दीर्घकालीन) प्यानक्रियाटाइटिस भएको पत्ता लगाउन अलि कठिन छ। ग्यास्ट्रिकले जस्तै पोलिरहेको हुन्छ, औषधि पनि खाइरहेका हुन्छन् तर निको भइरहेको हुँदैन।
लामो समय धुवाँमा काम गर्ने, धूमपान गर्नेलाई यस्तो हुन्छ। इन्डोस्कोपिक अल्ट्रासाउन्ड गरियो भने यस्तो समस्या पत्ता लगाउन सकिन्छ। यो नयाँ खालको प्रविधि हो। यसबाट प्यानक्रियाजको ग्रन्थीहरू र पित्त थैलीका नलीहरू पनि हेरिन्छ।
ग्यास्ट्राइटिस र प्यानक्रियाटाइटिस उस्तै देखिए पनि फरक छ। दुवै रोगका अधिकांश लक्षण एउटै जस्तो लाग्छन्।
पेटभित्रको छाला सुन्निन्छ भने त्यो ग्यास्ट्रिक हो। एचपाइलोरी भन्ने किटाणुको संक्रमणले ग्यास्ट्राइटिस हुन्छ। झन्डै ६० प्रतिशतलाई एचपाइलोरीको संक्रमण हुन सक्छ। तर तीमध्ये १० प्रतिशतलाई मात्रै ग्यास्ट्रिक हुन्छ।
प्यानक्रियाज भन्ने ग्रन्थी पेटको पछाडिको ग्रन्थी हो। यसले पाचन प्रणालीलाई सहायता गर्छ। जब यो ग्रन्थी सुन्निन्छ, तब प्यानक्रियाटाइटिस हुन्छ। अर्थात् प्यानक्रियाज सुन्निएर प्यानक्रियाटाइटिस हुने हो।
धेरैजसो मान्छेलाई गम्भीर प्रकृतिको प्यानक्रियाटाइटिस हुने कारण भनेको पित्त थैलीको पत्थरी र रक्सी सेवन हो। धेरै मोटोपन भएको, पहिल्यैदेखि चिनी रोग (मधुमेह) भएको अनि प्यानक्रियाजमा पत्थरी भएकालाई समेत यो समस्या हुन्छ। कतिपय अवस्थामा जथाभाबी औषधि सेवन र वंशाणुगत कारणले पनि गम्भीर प्यानक्रियाटाइटिस हुन्छ।
क्रोनिक प्यानक्रियाटाइटिस भनेको आमाशय बिग्रिँदै जाने प्रक्रिया हो। धेरै चुरोट खानेहरूलाई यस्तो प्यानक्रियाटाइटिस हुन्छ। रक्सी सेवन गर्नेलाई पनि यो समस्या हुन सक्छ।
यसको उपचारका लागि पहिले रोगको कारण पत्ता लगाउनुपर्छ।
जस्तो, पित्त थैलीको पत्थरी छ भने यसलाई फाल्नुपर्छ। रक्सी खाइरहेको छ भने खान बन्द गर्नुपर्छ। जथाभाबी औषधी सेवनका कारण हो भने त्यही अनुसार उपचार गर्नुपर्छ। धूमपान र मदिरा सेवन गर्नेहरूले यसको परित्याग नगरेमा प्यानक्रियाजको क्यान्सर समेत हुने खतरा रहन्छ।
त्यस्तै मोटोपन हटाउने, राम्रोसँग व्यायाम गर्ने लगायत विषयमा ध्यान दिन जरूरी छ।
क्रोनिक प्यानक्रियाटाइटिस भएकाहरूलाई क्यान्सर हुने डर हुन्छ। त्यसबाट बच्न पानी प्रशस्त पिउनुपर्छ, धूमपान र मद्यपान पूर्ण रूपमा त्याग्नुपर्छ। व्यायाम गर्नुपर्छ र तौल घटाउनुपर्छ।
कसैकसैको प्यानक्रियाजको नलीमा पत्थरी परेको हुनसक्छ। त्यसलाई हटाउनुपर्छ। सर्जरी (अपरेसन) गरेर समेत पेट पोल्ने, मुटु पोल्ने समस्याको उपचार हुन थालेको छ।
(पेट तथा कलेजो रोग विशेषज्ञ डा. सन्दीप राज कुँवर नर्भिक अस्पतालमा कार्यरत छन्।)