दाङको तुलसीपुर मेट्रो कलेजले बेइजिङ भाषा तथा संस्कृति विश्वविद्यालयको सहकार्यमा स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने भएको छ। यही शैक्षिक सत्रबाट सञ्चालन गर्ने गरी भर्ना खुला गरिएको छ।
कलेजका प्रमुख बसन्त आचार्यले स्नातक तहको कार्यक्रम चार वर्षको हुने बताए। दुई वर्ष मेट्रो कलेजमा अध्ययनपछि थप दुई वर्ष बेइजिङ विश्वविद्यालयमा अध्ययन गर्न जाने सहमति भएको आचार्यले जानकारी दिए।
मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गतको बिटिसिएसओएल कार्यक्रम सञ्चालन गर्न लागिएको हो।
आठ सेमेस्टरमा सञ्चालन हुने कार्यक्रमको पहिलो र दोस्रो सेमेस्टर मेट्रो कलेजमा सञ्चालन हुनेछ भने तेस्रोदेखि छैटौंसम्म चिनियाँ विश्वविद्यालयमा र अन्तिमका दुई सेमेस्टर मेट्रो कलेजमै सञ्चालन हुनेछ कलेज प्रशासनले जानकारी दिएको छ।
चार वर्षे कार्यक्रममा चिनियाँ भाषाका साथै विद्यार्थीको अभिरुचि अनुसार मानविकी संकायका विभिन्न विषयको अध्यापन हुनेछ। तर, ती सबै विषयहरू विद्यार्थीले चिनियाँ भाषामा नै अध्ययन गर्नुपर्ने प्रावधान राखिएको छ।
मेट्रो कलेजमा अध्ययन गर्दा सामान्य शुल्क लागे पनि चिनियाँ विश्वविद्यालयमा छात्रावास सुविधासहित पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न पाउने सुविधा रहेको आचार्यले बताए।
लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहयोगमा कलेजले यो कार्यक्रम सञ्चालन गर्न लागेको हो।
तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको यो कलेजमा हाल बिएएलएलबी कार्यक्रम सञ्चालन हुँदै आएको छ।