बुटवल उपमहानगरपालिकाले जाजरकोट केन्द्र भएर शुक्रबार राती गएको भूकम्पबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
आइतबार दिउँसो बुटवल उपमहानगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बुटवल उपमहानगरपालिकाले २५ लाख रुपैयाँ र जनप्रतिनिधिबाट संकलित ५ लाख र गरि ३० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो। त्यसैगरी कर्मचारीको तर्फबाट समेत सहयोग गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ३० लाख रुपैयाँ आर्थिक सहयोग सँगै आइतबार राती नै चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, ब्लाङकेट र म्याट गरी एक ट्रक सामान जाजरकोट पठाईएको जानकारी दिए।
बुटवल उपमहानगरपालिकाले एकद्वार प्रणालीमार्फत राहत सामग्री हस्तान्तरण गर्ने निर्णयअनुसार नगर प्रमुख पाण्डेयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत जाजरकोट पुग्ने गरी राहत सामग्री हस्तान्तरण गरेका हुन्।
अव्यवस्थित रुपमा राहत सामग्री पठाउँदा वास्तविक प्रभावितसम्म पुग्न नसकेको र अन्योल सिर्जना भएको खबरअनुसार एकीकृत रुपमा राहत सामग्री संकलन गरी पठाउने व्यवस्था मिलाइएको प्रमुख पाण्डेयले बताए।
बुटवल उपमहानगरपालिकाले बुटवलका संघसंस्था र अन्य सहयोगीहरुलाई एकद्वार प्रणालीबाट राहत सामग्री पठाउन अपील गरेको छ। जसका लागि उपमहानगरपालिकाले विपद शाखा प्रमुख योगेश चापागाइँलाई फोकल पर्सन तोकेको छ।
बुटवल उपमहानगरपालिकाको आह्वानमा आइतबार बसेको विपद् व्यवस्थापन समितिको बैठकमा बुटवल उद्योग वाणिज्य संघ बुटवल र रुपन्देही व्यापार संघले १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यस्तै नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) लुम्बिनीले ५० हजार नगद र अन्य सहयोग गर्ने तथा पश्चिमाञ्चल ट्रक व्यवसायी प्रालि बुटवलले ४ वटा ट्रकको भाडा बराबर ४ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै मासु व्यवसायी संघ, रेडक्रस सोसाइटीलगायतका संस्थाहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।