प्रहरीले नक्कली नेपाली नोटसहित झापाबाट ६ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
झापा गाउँपालिका–१ सितुमारीबाट नक्कली नेपाली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ परेका प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत किसनगञ्ज थानाका २४ वर्षीय अन्जर आलम, दीघल बैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय महबुल हक, पूर्णियाथानाका १९ वर्षीय परवेज आलम, २२ वर्षीय साकिब आलम र २० वर्षीय आजमल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए।
भारतीय नम्बरका दुइटा मोटरसाइकलमा नेपाल आएका उनीहरूलाई इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा आलमको साथबाट एक हजार दरका तीन थान नेपाली नक्कली नोट बरामद भएको थियो।
नक्कली नोट फेला परेसँगै अन्य पाँच जनाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको र उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।