दसैंको रौनक सकिएसँगै किसानहरूलाई धान थन्क्याउने चटारो थपिएको छ। देशभरका किसानहरू यतिबेला धान काट्न फाँट-फाँटमा व्यस्त छन्।
वर्षायाममा रोपेको धानबाली यतिबेला पाकेर फाँटहरू पहेंलपुर देखिएका छन्। मौसम पनि छ्याङ्ग उघ्रिएकाले किसानहरूमा धान थन्क्याउने हतारो बढेको हो।
काठमाडौं उपत्यकाका केही स्थानमा त असोजको आरम्भकै धान थन्क्याएर आलु लगाउनका लागि खेत तयार पारिसकिएको छ। काँठ इलाकामा भने धमाधम धान थन्क्याइँदै छ।
समयमै पानी नपरेर रोपाइँ गर्न ढिला भएका ठाउँमा भने धानबाली पाकिसकेको छैन।
ललितपुरको खोकना क्षेत्रमा पुग्दा किसानहरू थ्रेसर लगाएर धानबाली भित्र्याउन व्यस्त देखिन्थे। सडकको पहुँच विस्तार हुँदा अचेल थ्रेसर मेसिन गाउँगाउँ पनि पुगेको छ। यसले ढुंगा लगाएर धान चुट्ने परम्परागत तौरतरिकालाई विस्तारै विस्थापित गर्दै छ।