सशस्त्र प्रहरी बल नेपालले नेपाल-भारत सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्यको सुरूवात गरेको छ।
बिहीबार मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) दिपेन्द्र शाहको उपस्थितीमा धनुषास्थित नेपाल-भारत दशगजामा रहेको सीमा स्तम्भबाट मर्मतको सुरूवात गरिएको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सीमा स्तम्भ मर्मतको सुरूवात गर्दै डिआइजी शाहले दुरूस्त अवस्थाको सीमा स्तम्भले सीमा सुरक्षाको जिम्मेवारी प्राप्त सशस्त्र प्रहरी बल नेपाललाई थप प्रभावकारी रूपमा सीमाको सुरक्षा गर्न सहज हुने बताए। यसले सीमा क्षेत्रमा अपराध नियन्त्रण गर्न र दुई देश बीचको सम्बन्धलाई थप मजबुद बनाउन योगदान पुर्याउने उनले बताए।
सरकारबाट सशस्त्र प्रहरी बल नेपाललाई मर्मत कार्यको जिम्मेवारी प्राप्त भइसकेकाले आगामी दिनहरूमा निरन्तर रूपमा मर्मत कार्य गरिने र मर्मतका क्रममा स्थानीय जनसमुदाय तथा जनप्रतिनिधिहरूको सहयोग अपरिहार्य रहेको समेत उनले बताए।
उनले सशस्त्र प्रहरी बल नेपालले सीमावर्ती क्षेत्रका नागरिकको सहयोग बिना प्रभावकारी रूपमा सीमा सुरक्षा तथा सीमा अपराध नियन्त्रण गर्न असम्भव रहेको महशुस गरी सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम सुरू गरिसकेको र सोही अन्तर्गत गत कात्तिक १ गते छिन्नमस्ता बाहिनी महोत्तरीमा मधेश प्रदेशको भारतसँग जोडिएका १ सय ४३ वडाका अधिकांस वडा अध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको र उक्त अवसरमा प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्ने चरणमा रहेको समेत जानकारी गराएका थिए।
नेपाल-भारत बाउन्डरी वर्किङ ग्रुपको पाँचौं बैठकमा सन् २०१४ पछि मर्मत तथा निर्माण भएका सीमा स्तम्भहरूमध्ये जोर नम्बरको सीमा स्तम्भहरू भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सशस्त्र प्रहरी बल नेपालको उपस्थितीमा र बिजोर नम्बरको सीमा स्तम्भ नेपालले मर्मत गर्ने निर्णय भएको थियो।
२०७७ साउन १९ गतेको सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार सन् २०१४ पश्चात् मर्मत तथा निर्माण भएका बिजोर सीमा स्तम्भहरू सशस्त्र प्रहरी बल नेपाललाई मर्मत गर्ने जिम्मेवारी दिएको थियो। त्यसपछि पहिलो चरणमा मधेश प्रदेशमा रहेको एक हजारभन्दा बढी सीमा स्तम्भहरूको मर्मत हुनेछन्।
आजैबाट मधेश प्रदेशका सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्सा जिल्लाहरूमा समेत सीमा स्तम्भहरूको मर्मत कार्य सुरू गरिएको डिएसपी थापाले जानकारी दिए।