अहिले चितवनमा डेंगी, इन्फ्लुएन्जा, स्क्रब टाइफस लगायतका ज्वरो धेरै छ। डेंगी दुई/तीन वर्षमा आउँछ। साथै दुई वर्षदेखि हामीकहाँ जापानिज इन्सेफलाइटिस (मस्तिष्क ज्वरो) अलि बढ्न थालेको छ।
जापानिज इन्सेफलाइटिस पनि भाइरल इन्फेक्सन नै हो। लामखुट्टेले टोक्दा लाग्ने यो रोगका लक्षण अनेक किसिमका हुन्छन्। कोही हातखुट्टा नचलेर आउँछन्। यो मे महिनादेखि अक्टोबरसम्म हुन्छ। धान काट्ने बेलामा लामखुट्टे लुक्न सक्ने भएकाले यो समयमा प्रकोप हुन्छ।
सुरूमा यो नेपालगन्जमा बढी हुन्थ्यो। तर त्यहाँ खोपको माध्यमबाट यसलाई नियन्त्रण गर्न सकिएको थियो।
ढाडको पानी निकालेर यो रोग भए/नभएको पत्ता लाग्छ। यसको खासै औषधि छैन। त्यसैले ३०/३५ प्रतिशतलाई अप्ठ्यारो पार्छ।
कतिपय अवस्थासम्म महिनौं अस्पताल बस्नुपर्ने हुन्छ। यो समस्याबाट बच्न समेत गाह्रो छ। किनकि लामखुट्टे जता पनि हुन सक्छ। यो रोगबाट बच्ने भनेको खोप नै हो।
हिजोआज बच्चाहरूलाई यसको खोप दिन थालिएको छ। यो रोगबाट जोगिन एक डोज मात्रै लगाउन सकेमा धेरै सुरक्षित हुन्छ।
अरू ज्वरो र जापानिज इन्सेफलाइटिस ज्वरोमा धेरै फरक छ।
बिरामी लर्बराउने, कसैको एउटा हात नचल्ने, कोही बिर्सिने हुन्छन्। बिरामीलाई अलग्गै लक्षण देखिने भएकाले सजिलै थाहा पाउन सकिन्छ।
(कन्सल्टेन्ट फिजिसियन डा. प्रकाश खतिवडा भरतपुर अस्पताल र ओम अस्पताल भरतपुरमा कार्यरत छन्।)