दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीको शव काठमाडौं ल्याइएको छ।
नारायणप्रसाद न्यौपानेको शव मध्यराति नै काठमाडौं ल्याइएको थियो। लोकेन्द्रसिंह धामी, दीपेशराज विष्टको शव आइतबार बिहान आइपुगेको हो।
आशिष चौधरीको शव आइपुग्न बाँकी रहेको र चारै जनाको शव आइपुगेपछि त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
पोष्टमार्टमपछि चारै जनाको शव आजै धनगढी लैजाने तयारी गरिएको छ। शवलाई श्रद्धाञ्जली दिन परराष्ट्रमन्त्री एनपी साउद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
कानुनी प्रक्रिया पूरा भएका चार विद्यार्थीको शव स्थानीय समयअनुसार शनिबार दिउँसो फ्लाइ दुबईको उडानबाट नेपाल पठाइएकामा आइतबार बिहानसम्म तीनजनाको शव आइपुगेको हो।
इजरायलस्थित नेपाली दूतावासका अनुसार इजरायलबाट फ्लाइ दुबईको उडान नम्बर एफजेड– १२१० मार्फत् दुबईसम्म र त्यसपछि फ्लाइ दुबईकै उडान नम्बर एफजेड– ८३५१ मार्फत काठमाडौंसम्म ल्याइएको थियो।
इजरायलमा हमास समूहको आक्रमण परी दस जना नेपालीको निधन भएको छ। तीमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष चौधरीको शव ल्याइएको हो।
बाँकी ६ जनाको शव प्रक्रिया पूरा गरेर ल्याउने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।