रेबिज एउटा भाइरल रोग हो। जुन रोग लाग्यो भने उपचार न्यूनमात्रै हुन्छ। संसारभरी हरेक वर्ष रेबिजको कारण ६० हजारको हाराहारीमा मृत्यु हुन्छ। त्योमध्ये एसिया र अफ्रिकामा धेरै छ। ६० हजारमध्ये ३५ को प्रतिशत भारतमा मात्रै मृत्यु हुन्छ।
हामी भारतसँग जोडिएको हुनाले रेबिजको जोखिम नेपालमा पनि उच्च छ। नेपालमा हरेक वर्ष लगभग ३० देखि ३५ जनाको मृत्यु रेबिजको कारणले हुन्छ। नेपालमा साधारणतया यो रोग समुदायमा (इन्डेमिक) रहिरहेको देखिन्छ। रेबिजको कारण मृत्यु भएकाहरूमध्ये ९९ प्रतिशतलाई कुकुरकै कारण हुन्छ भन्ने तथ्यांकले देखाएको छ।
रेबिज न्यूनीकरण गर्ने दुई उपाय छन्।
पहिलो- कुकुरको टोकाइबाट जोगिने
दोस्रो-रेबिज विरूद्धको खोप लगाउने
कुकुरले मात्रै होइन स्तनपान गराउने सबै प्राणीले टोक्दा रेबिज लाग्छ। सामान्यत, कुकुरले टोकेपछि रेबिज लाग्छ। तर स्वस्थ कुकुरले टोक्दैमा रेबिज लाग्ने होइन। नियमित रूपमा रेबिज विरूद्धको खोप लगाइरहेका कुकुरले टोक्दा यो रोग लाग्दैन। रेबिज लागेका कुकुरले टोक्दैमा सर्छ भन्ने पनि होइन। रेबिज लाग्ने चरण हुन्छ। रेबिज लागेको अन्तिम समयमा मात्र कुकुरको सेलिभरी ग्रन्थीमा रेबिजको भाइरस जान्छ। अर्थात् कुकुर मर्नुभन्दा ७ दिन अगाडि मात्रै उसले अरूलाई रेबिज सार्छ।
कुन कुकुरलाई रेबिज लागेको छ अनि कुन कुकुरलाई लागेको छैन भनेर थाहा कसरी पाउने त? कुनै पनि कारण नभइकन कुकुरले टोक्यो भने त्यसलाई रेबिज लागेको आशंका गर्न सकिन्छ।
नेपालमा २० लाखको हाराहारीमा कुकुर रहेको अनुमान छ। त्यसैले कुकुरले टोक्नासाथ यथाशिघ्र खोप लगाउन जरूरी छ।
पूर्वसावधानीका लागि रेबिज विरूद्धको खोप
कुकुरले नटोक्दा समेत रेबिज विरूद्धको खोप लगाउनु पर्छ। यसरी खोप लगाउँदाका धेरै फाइदा छन्। कुकुरले टोकेपछि लगाउँदा पनि शतप्रतिशत सुरक्षित हुन सकिन्छ। तर हाम्रोजस्तो छाडा कुकुर धेरै भएको देशमा पहिला नै खोप लगाएको राम्रो हो। कुकुरले टोकेपछि मात्र खोप लगाउन जरूरी छैन।
कुकुरले टोकेको शंका लागेमा अथवा टोक्नुभन्दा अघि लगाउँदा कुनै घाटा हुँदैन। पहिला नै खोप लगाएकाहरूलाई कुनै समयमा कुकरले टोक्यो भने खोपको मात्रा कम लगाए पनि हुन्छ भने अर्कोतिर अन्य औषधीको जरूरी पर्दैन।
जस्तो, पूर्वसावधानीका लागि दुई डोज खोप लगाइएको छ भने कुकुरले टोकेपछि दुई डोजमात्रै खोप लगाउँदा हुन्छ। तर पहिला खोप लगाइएको छैन भने कुकुरले टोकेपछि तीन डोज लगाउन पर्छ। एक पटक लगाएको खोपले ९ वर्ष काम गर्छ। कहिलेकाहीँ साना बच्चाहरूले आफूलाई कुकुरले टोकेको भनेका हुँदैनन्। त्यस्तो बेला कहिलेकाहीँ बच्चाको मृत्यु समेत हुने खतरा रहन्छ। त्यसैले सुरूमै खोप लगाइएको छ भने रेबिजको जोखिम नै कम हुन्छ। अमेरिका लगायतका देशबाट नेपाल आउँदा कतिपयले रेबिजको खोप लगाएका हुन्छन्।
कस्ता व्यक्तिले कुकुरले नटोक्दै रेबिजको खोप लगाउने?
जसको कामै कुकुर पाल्ने, हुर्काउने र बेच्ने अर्थात् कुकुर व्यवसायमा लागेका व्यक्तिले खोप लगाउन पर्छ। कुकुरसँग घुलमिल हुन चाहनाले समेत खोप लगाउन पर्छ। अर्को कुरा हामी सर्वसाधारणले समेत लगाउन सकिन्छ। यो कुरा अनुसन्धानबाटै आएको हो।
रेबिजबारे आउने धेरै जिज्ञासा
कुकुरबाहेक बाँदर, बिरालो लगायतले टोक्दा रेबिज लाग्छ। तर ९९ प्रतिशत कुकुरले टोक्दा नै हुन्छ। मुसाले टोक्यो भने रेबिज लाग्छ कि लाग्दैन भनेर धेरै जिज्ञासा रहन्छ। मुसाले टोकेर रेबिज लाएको तथ्यांक छैन। कतिपयले गाईलाई कुकुरले टोकेको थियो। गाईको दूध खायो भने सर्छ भन्ने पनि छ। तर त्यस्तो भएको पाइएको छैन। कुनै व्यक्तिलाई कुकुरले टोक्यो त्यो व्यक्तिसँग अरू नजिक हुनु हुन्छ कि हुँदैन भन्ने धेरैलाई लाग्छ। खोप लगाइएको छ भने त्यसमा आत्तिन जरूरी छैन। अर्को कुरा रेबिज तत्कालै सर्ने पनि होइन। एकदेखि तीन महिनाको समयमा रेबिज सर्ने तथ्यांकले देखाएको छ।
सम्भव भएसम्म सबैले खोप लगाएको राम्रो
नेपाल रेबिजको जोखिम भएको देश हो। त्यसैले सम्भव भएसम्म सबैले खोप लगाएको राम्रो हो। १ वर्षभन्दा धेरै उमेर भएका बच्चाहरूले खोप लगाउन सक्छन्। घरमा कुकुर, बिरालो पाल्नेहरूले त अनिवार्य रूपमै खोप लगाएको राम्रो हो। खोप लगाउँदा बच्चाहरूको थाइमा लगाउनुपर्छ भने अन्य उमेर समूहका व्यक्तिले पाखुरामा लगाउनुपर्छ। सकेसम्म कहिले पनि चुरोट नखाएको राम्रो हो। तर खोप लगाइन्जेल चुरोट खानै हुँदैन भने चुरोट खानेको वरपर समेत बस्न हुँदैन।
कुकुरले टोक्नासाथ के गर्ने?
जब कुकुरले टोक्छ तब के गर्ने भनेर धेरैलाई अन्यौल हुन सक्छ। त्यस्तो बेलामा सुरूमा १५ मिनेटसम्म कुकुरले टोकेको ठाउँमा साबुन पानीले धुनुपर्छ। त्यस्तो गरेमा भाइरसको मात्रा धेरै कम हुन्छ। कुकुरले बाहेक अरूले टोकेको ठाउँमा साबुन पानीले धुन हुन्छ भन्ने हुँदैन। जस्तो सर्पले टोकेको बेलामा यस्तो गर्नै हुँदैन। कुकुरले टोकेको ठाउँमा सिलाउन हुँदैन। त्यस्तो गरेमा झन् खतरा हुन सक्छ। खोप लगाउनको लागि सरकारको मात्रै भर पर्न हुँदैन। किनकि रेबिजबाट जोगिन सरकारमात्र नभएर समुदाय र व्यक्तिको उत्तिकै भूमिका हुन्छ। किनकि हरेक वर्ष मृत्यु हुने ३२ लाई घटाएर शून्यमा पुर्याउने हाम्रो लक्ष्य हुनुपर्छ।
(नेपाल प्रहरी अस्पतालमा कार्यरत जनरल प्राक्टिस एवम् इमर्जेन्सी फिजिसियन डा. विवेक राजभण्डारी त्रिवि शिक्षण अस्पतालबाट इमर्जेन्सी मेडिसिनमा डिएम गर्दैछन्।)