डिजिटल मिडियाका प्रकाशकहरू आबद्ध भएर 'डिजिटल मिडिया सोसाइटी' गठन भएको छ।
मूलधारका नेपाली पत्रकारितामा डिजिटल मिडियाका प्रभाव क्रमशः बढेर गएका सन्दर्भमा यस माध्यममा आबद्ध संस्थाहरूको समाचार अझ विश्वसनीय, जिम्मेवार र व्यावसायिक बनाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै 'डिजिटल मिडिया सोसाइटी' गठन भएको हो।
डिजिटल मिडिया सोसाइटीमा आबद्ध संस्थाहरूले पत्रकारिताको व्यावसायिकता तथा इमानलाई संवर्द्धन गर्ने विषयमा दृढता व्यक्त गर्दै आफ्नै आचारसंहिता समेत जारी गरेर सोअनुरूप मिडियालाई जिम्मेवार र अनुशासित बनाउने बताएका छन्।
आबद्ध संस्थाका बाह्रखरी मिडिया प्रालि (बाह्रखरी डट्कम) का अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानको अध्यक्षतामा गठित डिजिटल मिडिया सोसाइटीको उपाध्यक्षमा सेतोपाटी सञ्चार प्रालि (सेतोपाटी डटकम) का अध्यक्ष तथा प्रधान सम्पादक अमित ढकाल, महासचिवमा लोकान्तर सञ्चार प्रालि (लोकान्तर डटकम) का अध्यक्ष तथा सम्पादक विमल गौतम तथा कोषाध्यक्षमा चाणक्य मिडिया प्रालि (क्लिकमाण्डू डटकम) का अध्यक्ष पुष्प दुलाल रहेका छन्।
आज बसेको संस्थाको पहिलो कार्यसमिति बैठकले हिमाल मिडिया प्रालिका अध्यक्ष कुन्द दीक्षित तथा डिस्कभरी न्युज नेटवर्क प्रालिका संस्थापक ओम शर्मालाई डिजिटल मिडिया सोसाइटीको सल्लाहकार चयन गरिएको छ।
सोसाइटीका सबै संस्थापक सदस्य मिडियाहरू स्थापना भएको ५ वर्ष पूरा गरिसकेका छन् भने पछिल्लो २ वर्षदेखि प्रत्येक संस्थाले कम्तीमा १५ जना पत्रकारलाई रोजगारी दिइरहेका र गएको आर्थिक वर्षसम्म सरकारी करचुक्ताको प्रमाणपत्र पनि प्राप्त गरेका छन्।
साथै, सम्पादकहरूको न्यूनतम् शैक्षिक योग्यता स्नातक तह रहेको छ। नयाँ बन्ने सदस्यहरूका लागि पनि उल्लेखित शर्तहरू अनिवार्य हुनेछन्।