बिहीबार दिउँसो साढे १ बजे काठमाडौंमा गोली चल्यो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ‘लुटेरा समूह’ माथि गोली चलाएको थियो।
सुन, डलरलगायत लुटपाट गर्ने समूह सक्रिय रहेको भन्दै अपराध अनुसन्धान कार्यालयलाई एक महिनाअघि नै एउटा सूचना आएको थियो। तर त्यो समूह फेला परेको थिएन।
बिहीबार सुन लुट्ने समूह गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ जगडोल जाँदै गरेको भन्ने सूचना प्रहरीले पायो। त्यसको आधारमा प्रहरी खटियो। अपराध अनुसन्धान कार्यालयको टोली सादा पोशाकमा खटिन्छ।
प्रहरीका अनुसार लुटेरा समूह तीन वटा बाइकमा सवार थिए। उनीहरूलाई पहिचान गरी प्रहरीले पछ्याएपछि समूह सतर्क भएको थियो।
त्यसपछि एउटा मोटरसाइकलमा सवार रहेका अमर घलानले आफ्नो पेस्तोल झिकेका थिए। उनले पेस्तोल झिकेर प्रहरीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले जवाफी फायर खोलेको प्रवक्ता एवं एसपी रविन्द्र रेग्मीले जानकारी दिए।
प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको थियो। जसबाट सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर २ घर भएका ३६ वर्षीय घलानको खुट्टामा लागेर घाइते भए। उनको दाहिने खुट्टाको तिघ्रा र घुँडामुनि गोली लागेको प्रहरीले जनाएको छ। उनको जोरपाटीस्थित एनएमसी अस्पतालमा उपचार भइरहेको छ।
उनीसँगै प्रहरीले अन्य दुई जनालाई पनि पक्राउ गर्यो। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका ३० वर्षीय जितेन लामा र सर्लाही घर भएका ३६ वर्षका सन्त लामा छन्। उनीहरूबाट प्रहरीले एउटा पेस्तोल, सात राउण्ड गोली र प्रयोग गरिएका मोटरसाइकल बरामद गरेको छ।
यसमा अझै तीन जना फरार रहेको एसपी रेग्मीले बताए।
एसपी रेग्मीका अनुसार यस लुटेरा समूहका प्रमुख व्यक्ति अमर घलान नै हुन्। उनकै नेतृत्वमा काठमाडौं उपत्यकामा लुटपाटका घटनाहरू हुने गरेका छन्।
‘हामीलाई नै सूचना आएको एक महिना भयो। सम्भवत: उनीहरूले त्यसअगाडि केही घटना घटाएकै कारण हामीलाई सूचना आएको थियो,’ रेग्मीले भने।
उनका अनुसार अमर घलानको समूह आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू पनि हुन्। उनीहरू हातहतियार प्रयोग गरी लुटपाट गर्ने गर्थे। प्रहरी स्रोतका अनुसार अमर घलानलाई साथीहरूले 'कमान्डो' भन्ने गर्छन्।
घलान यसअघि ज्यान मार्ने उद्योग कसुरमा जेल सजाय भोगिसकेका व्यक्ति हुन्। अन्य अपराधमा पनि संलग्न भएको प्रहरीको भनाइ छ। त्यस्तै, सन्त लामा पनि ज्यान मार्ने उद्योगका फरार प्रतिवादी नै हुन्।
अन्य व्यक्तिहरूको पछिल्लो पृष्ठभूमिबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ।
समूहले काठमाडौंमा सुन, डलर, अवैध नगद लुटपाट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
तर प्रहरी कार्यालयमा उनीहरूविरूद्ध कुनै पनि उजुरी परेको भने छैन।
‘उनीहरू सुन लुटेरा हुन्। उनीहरूले प्राय:जसो प्रहरीकहाँ रिपोर्टिङ नहुने खालका लुटपाट गर्थे। भन्सार छलेर ल्याएका सुन नै लुटपाट गरेपछि त्यसबारे प्रहरीकहाँ नआउने भएर त्यस्तो खालका टार्गेट गर्ने हुन्,’ एसपी रेग्मीले भने।
प्रहरीले सुन लुट्ने गरेको बताए पनि उनीहरूबाट सुन बरामद भने भएको छैन।
उनीहरूमाथि कुन कसुरमा म्याद थप गर्ने भन्ने विषयमा प्रहरीले बुझिरहेको छ। प्रहरीमाथि गोली चलाउन लागेको भन्दै ज्यान मार्ने उद्योग कसुरमा पनि म्याद थप गर्ने प्रहरीको तयारी छ।